756 views 0 secs 0 comments

घूस मुद्दा मेङलाई

In विश्व
२४ आश्विन २०७५, बुधबार १२:३२

बेइजिङ — चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोल प्रमुख मेङ होङेई आफ्नो नियन्त्रणमा रहेको जनाएको छ  । चिनियाँ अधिकारीहरूले उनीमाथि एक घूस काण्डमा मुद्दामा छानबिन भइरहेको जनाएका छन्  ।चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्रीसमेत रहेका मेङ गत सेप्टेम्बर २५ मा चीन गएलगत्तै सम्पर्कविहीन भएका थिए । आइतबार इन्टरपोलले मेङको अवस्थाबारे चासो व्यक्त गर्दै चीनलाई प्रस्ट पार्न आग्रह गरेको थियो ।

मेङ बेपत्ता भएको सार्वजनिक भएपछि इन्टरपोलले विज्ञप्ति जारी गर्दै ‘उक्त घटना फ्रान्स र चीन दुवैका लागि चासोको विषय भएको’ जनाएको थियो । इन्टरपोलका महासचिव जुर्गेन स्टकले ‘इन्टरपोलले मेङको अवस्थाबारे प्रस्ट पार्न चिनियाँ अधिकारीलाई आधिकारिक च्यानलमार्फत आग्रह गरेको’ एक दिनमा चिनियाँ अधिकारीले उनलाई नियन्त्रणमा लिएको जनाएका हुन् ।मेङमाथि सार्वजनिक पद धारण गरेका व्यक्तिमाथिको भ्रष्टाचार आरोपबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले छानबिन गरिरहेको जनाइएको छ । मेङलाई विमानबाट चीनमा ओर्लिनासाथ पक्राउ गरिएको आशंका गरिएको थियो । चिनियाँ अधिकारीले त्यसैलाई पुष्टि गरेका हुन् ।

मेङले तत्काल लागू हुने गरी अध्यक्ष पदबाट दिएको राजीनामा पत्र आइतबार प्राप्त भएको इन्टरपोलले जनाएको छ । उनको राजीनामासँगै इन्टरपोलले हाल उपाध्यक्ष रहेका दक्षिण कोरियाली नागरिक किम जोङ–याङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ । दुबईमा आगामी महिना हुने इन्टरपोलको महासभाले बाँकी दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन गर्ने जनाइएको छ । सन् २०१६ मा अध्यक्षमा निर्वाचित मेङको कार्यकाल २०२० सम्मका लागि थियो ।

चीनले हिरासतमा लिएको पुष्टि गरेलगत्तै बोल्दै मेङकी श्रीमती ग्रेस मेङले श्रीमान्को जीवन खतरामा रहेको पत्रकारलाई बताएकी छन् । उनले श्रीमान्को अवस्था पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् । बेपत्ता भएका दिन मेङले सामाजिक सञ्जालमा ‘मेरो फोनको प्रतीक्षा गर्नू’ भन्दै आफूलाई सन्देश पठाएको उनले बताइन् । उनले भनिन्, ‘मेङलाई के भएको छ मलाई केही थाहा छैन ।’ उनले ‘मेङको अवस्था सम्बन्धी मुद्दा निष्पक्षता र न्यायसँग जोडिएको’ बताइन् ।

मेङलाई राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत उनलाई पक्राउ गरिएको जनाइएको छ । उक्त अभियानका कारण चीनमा कैयांै वरिष्ठ अधिकारीहरू बेपत्ता भएका छन् ।

अन्य कपितय अधिकारीजस्तै मेङको अवस्थाबारे चीनले स्पष्ट पारेको छैन । साथै, उनीविरुद्ध के कस्ता अभियोग लगाइँदै छ भन्नेबारे पनि कुनै जानकारी सार्वजनिक गरेको छैन । शनिबार साउथ चाइना मर्निङ पोस्टले मेङलाई ‘सोधपुछका लागि पक्राउ गरिएको’ जनाएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत रहेका मेङसँग प्रहरी संगठन तथा आपराधिक न्यायको क्षेत्रमा ४ दशक लामो अनुभव छ । मेङले लागूऔषध, आपराधिक न्याय, प्रतिआतंकवाद, सीमा सुरक्षा लगायतका मुद्दामा चार दशक कार्य गरेको इन्टरपोलले जनाएको छ ।