नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकीकरण टुंगो नलगाउँदा सरकार र पार्टी दुबै दिशाहीन भएको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले माउन्टेन टिभीसँग बुधबार अन्तर्वार्ता दिँदै तुरुन्त स्थायी समिति बैठक डाकेर पार्टी एकीकरण टुंगो लगाउँदै सरकारका काम कारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताए।
नेता खनालले घोषणा भएको चार महिना बित्दा समेत एकीकरणको टुंगो लाग्न नसक्दा पार्टी गतिहीन बनेको बताए। उनले पार्टी गतिहीन हुँदा सरकारले पनि जनविश्वास हासिल गर्न नसकेको बताए।
‘नेकपा टुप्पोमा छ फेदमा छैन,’ खनालले भने, ‘केन्द्र बन्यो, स्थायी समिति बन्यो, सचिवालय बन्यो, तलका सबै विगठन छन्, कहिले एकता हुने अनिश्चितता छ, एकताको सूची बनाइएको छैन। सिंगो देश हाँक्ने पार्टी यस्तो अवस्थामा हुनु दुखद् हो।’
अर्का वरिष्ठ नेता माधव नेपालको असन्तुष्टितर्फ इंगित गर्दै खनालले ‘पार्टीका मिटिङहरू नै आयोजना भएनन्, पटक-पटक माग गर्दा पनि बोलाइएन भने बाहिर चुहिने’ गरेको बताए। उनले समयमा सही निर्णय र विश्लेषण हुन सकेन, पार्टीभित्र अन्याय भयो भने असन्तुष्टि सार्वजनिक हुने बताए।
‘माधवजीको विषयमा धेरै छलफल-टिप्पणी गर्न चाहन्नँ। कुन कुरा कहाँ बोल्नुपर्छ लिडरहरूले विचार गर्नुपर्छ। उपयुक्त थियो थिएन, उहाँले विचार गर्नुपर्थ्यो तर पार्टीका बैठकहरू आयोजना भएनन्, विषयवस्तुमा छलफल भएन भने बाहिर छड्किन्छन्,’ उनले भने।
उनले यी सबको कारण पार्टी विगठनको ‘अदूरदर्शीता’ भएको बताए। उनले पार्टी विगठन प्रस्ताव जसले गर्यो, उसको कदम ‘अदूरदर्शी’ रहेको बताए। ‘यसरी पार्टी विगठन गर्नु हुँदैनथ्यो। विगठन गर्दा केही व्यवस्था गर्नुपर्थ्यो। एकता नहुञ्जेलसम्म के कसरी काम गर्ने निर्क्यौल हुनुपर्थ्यो।
पहिले-पहिले पार्टी एकता नभएका हैनन्, त्यतिबेला यसरी सिंगै पार्टी बिगठन गरिएको थिएन,’ उनले भने।
नेता खनालले ६० प्रतिशत स्थानीय निकाय नेकपाको जिम्मा हुँदा पनि काम गर्न नसकिरहेको बताए। ६ वटा प्रान्तीय सरकार हुँदा पनि पार्टीका कमिटीहरू गठन नहुँदा अपारदर्शीता र अराजकता पैदा भएको बताए।
‘सयौं नगरपालिका-गाउँपालिका जितेका छौं। तिनीहरुले दिनानुदिन निर्णय गरिरहेका छन्, कसको सल्लाह, सुझाव, परामर्शमा निर्णय गरिरहेका छन्? त्यहाँ पार्टी छ तर विगठित अवस्थामा छ। कसरी काम गरिरहेका छन्?,’ उनले भने, ‘६ वटा प्रान्तीय सरकार हाम्रै नेतृत्वमा छन्। दुई नम्बर प्रदेशमा पनि हाम्रो बहुमत नै छ। पार्टीको भूमिका खै?’
कतै पार्टीमा बिचलन आइसक्यो कि भन्नुपर्ने परिस्थिति सिर्जना भएको खनालले बताए। ‘फलाम त नचलाएपछि खिया लाग्छ, पार्टीको के कुरा,’ उनले भने।
उनले यो सबै हुनुमा पार्टी विगठनको ‘अदूरदर्शी’ निर्णयकै परिणाम भएको बताए। ‘त्यसैले, स्थायी समिति बैठक बोलाऔं, यी सबै कुरा समीक्षा गरौं, एकीकरणको बारेमा, छलफल गरौं, टुंगो लगाऔं भनिरहेका छौं,’ खनालले भने।
आफूहरूले यसो भनिरहँदा मुख्य नेताले विषयवस्तुको गम्भीरता बुझ्न नसकेको आरोप खनालले लगाए। पार्टीको विषय टुंगो लगाउन माग गर्दा अड्चन केही नदेखिने तर नेताहरू विदेश दौडिएको दौडियै गर्ने गरेको बताए। ‘अड्चन केहीले पारेको छैन। नेताहरू बाहिर विदेश दौडिएको दौडियै हुनुहुन्छ। एउटा आउनुहुन्छ, अर्को जानुहुन्छ, समय दिन सक्नुभएको छैन,’ उनले भने, ‘पार्टी एकीकरणको विषयको गम्भीर, दूरगामी महत्व छ, सिंगो देश सञ्चालनको अवस्था, कम्युनिस्ट आन्दोलन समस्यामा छ, यी सबै समयमा नहुँदा बाहिर कुराहरू छड्किन थालेका छन्।’
प्रधानमन्त्री अमेरिका जानुभन्दा पहिले अगाडि दुई दिन फुर्सद भए पनि समय नदिएको उनले बताए। ‘स्थायी समिति बैठक राखेर एकीकरणको टुंग्यो लगाऔं भनेको थिएँ, मापदण्ड बनाएर मार्गदर्शन गरौं भनेको थिएँ,’ उनले भने, ‘तर, भएन।’
उनले प्रधानमन्त्रीलाई कुरा गर्ने फुर्सद नै नभएको बताए। ‘प्रधानमन्त्रीलाई हामीसँग कुराकानी गर्ने फुर्सद भएजस्तो लाग्दैन। टेलिफोन लाग्दैन। लगाउनै गाह्रो हुन्छ। पिएहरूका मात्र फोन लाग्छन्,’ उनले भने।
सरकारले कतिपय मामिलामा विदेश मामिला ठिकै भए पनि आन्तरिक मामिलामा असन्तुष्टि रहेको खनालले बताए। जनता सन्तुष्ट बन्ने नसकेको, दुई तिहाइ बहुमतको सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको उनले बताए। ‘किन यस्तो भइरहेको छ? हामीले मिडियामा आएका कुराहरूलाई गम्भीरतापूर्वक नियालिरहेका छौं, पार्टीमा समीक्षा हुनुपर्छ,’ खनालले भने।
खनालले तीन तहका सरकारमध्ये तल्ला सरकारमा पार्टीको नेतृत्व कतै पनि नभएको बताए। ‘प्रान्तीय, स्थानीय सरकार छन्। तल पार्टी नै छैन। नेतृत्व भएन भने अग्रगति, प्रगति कसरी गर्ने? कुन भिजन, विचार दृष्टिकोणका आधारमा निर्णय दिने दिने? सरकार राम्रोसँग सञ्चालन नहुनुमा यो पनि कारण हो,’ उनले भने।
यस्ता असन्तुष्टिका बखत सरकारको नेतृत्व परिवर्तन, मन्त्री परिवर्तनको माग उठ्नु स्वाभाविक हुने उनले बताए। ‘इन द कोर्स अफ डेभलपमेन्ट,’ खनालले भने, ‘सकभर पाँच वर्ष तलमाथि नगरौं भन्ने हो, मन्त्री फेरिन सक्छन्, पिएम फेरिन सक्छन्, जसो गर्दा हाम्रो दायित्व पूरा हुन्छ, पार्टीले निर्णय गर्दै जान्छ।’
उनले यदाकदा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच सरकारको नेतृत्व बाँडफाँटबारे ‘आन्तरिक सहमति’ रहेको सुनिने गरेको पनि बताए। ‘त्यसो हो भने भिन्नै कुरा हो, त्यो प्रश्नमा समझदारीमा जाने कुरा छँदैछ, हामी निःसन्देह विचार गर्छौं,’ उनले भने, ‘अहिले पार्टी गतिशील भएर जानुपर्छ। सरकार लोकप्रिय भएर जान सक्नुपर्छ, समीक्षा, मूल्यांकन पार्टीले गर्छ।’
प्रधानमन्त्रीलाई ‘बोझ’ रहेको भए त्यो ‘बोझ’ बाँड्नुपर्ने उनले बताए।
उनले देशमा व्याप्त मूल्य बृद्धि, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा किन तदारुकता हुन सकिरहेका छैन? भन्दै प्रश्न गरे। ‘निर्मला प्रकरणमा अपराधी पक्रन किन सकिएको छैन? गम्भीर ढंगले प्रश्न उठेका छन्। हामी पार्टीमा कुरा गर्छौं,’ उनले भने, ‘शान्ति सुरक्षा बलियो पार्नुपर्यो, गृह मन्त्रालय, प्रहरी प्रशासन दह्रो बनाउनुपर्यो।’