आफैले बनाएको जहाज उडाउने प्रमोद रेग्मी : अमेरिकी आकाशमा नेपाली उडान

In सूचना-प्रबिधि
१७ आश्विन २०७५, बुधबार १२:१६

काठमाडौँ । अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । अमेरिकी सरकारको हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ ।

अमेरिकी आकाशमा उडान भरेर नेपालको नाम उोचो बनाउने प्रतिभा हुन्–प्रमोद रेग्मी । काठमाडौँमा हुर्केका र पढेका प्रमोद रेग्मी २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका हुन् ।

पेसाले सुरूमा इन्जिनियर रहेका प्रमोदलाई सानैदेखि पाइलट बन्ने रहर थियो । अमेरिकाको अरिजोना राज्यको फिनिक्स सहरका स्थायी निवासी प्रमोदले पाइलट कोर्श पनि पूरा गरेर उडान भर्ने पाइलटको लाइसेन्स प्राप्त गरेका छन् । पाइलट लाइसेन्स बनाएर जहाज उडाउन सुरू गरेपछि प्रमोदको मनमा जहाज नै बनाउने हुटहुटी सुरू भएको हो ।

सानैदेखि जिज्ञासु र मेहनती स्वभावका प्रमोदलाई जोखिमयुक्त काम गर्न र केही नयाँ सिर्जना गर्न निकै मन पर्छ । त्यसकै उपजमा उनले आफ्नै ग्यारेजमा डेढ बर्ष लगाएर जहाज बनाएर अमेरिकी आकाशमा उडाएरै देखाए ।प्रमोद काठमाडौँ स्थित बालाजुमा जन्मिएका हुन् । तरुण मा.बि. बाट एसएलसी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट आधारभूत प्राविधिक शिक्षा र त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गरेपछि थप अध्ययको लागि प्रमोद अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिका पुगेपछिका सुरूका दिन निकै संघर्षपूर्ण बिते । अमेरिकाको मेसा टेक्निकल स्कुलबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेपछि उनको अवस्था विस्तारै सुधारिदै गयो । इन्जिनियरिङ पेसा चल्दै गर्दा उनले पाइलट कोर्श पनि पूरा गरे र लाइसेन्स लिए । जहाज उडाउँदै गर्दा उनको मनमा जहाज नै बनाएर छाड्ने अठोट अंकुराउँदै गयो ।

अठोट यति कठोर भैदियो कि, त्यो पूरा गर्नका लागि प्रयाप्त आर्थिक स्रोत र प्राबिधिक सामग्री सबैभन्दा ठूलो चुनौती थियो । त्यसमाथि अध्ययन, अनुसन्धान र किठन परिश्रमको कुरै छाडौँ । तर आँटेपछि गरिछाड्ने स्वभावका प्रमोदका लागि पैशाको जोहो हुँदै गयो, प्राबिधिक सामान पनि अमेरिका र अन्य देशबाट जुटाउँदै जहाजको आकार दिँदै गए । नेपालमा भएको भए जहाज बनाउनका लागि चाहिने सामग्री ल्याउनकै लागि डेढ बर्ष लाग्ने बताउँदै प्रमोद भन्छन्, आफ्नो देशमै यो काम गरेर देखाउने दिन कहिले आउला ?

डेढ बर्षसम्म सम्पर्कविहीन जस्तै भएर प्रमोदले ग्यारेजको बन्द कम्पाउण्डमा लगातार जहाजको आकार विस्तार गर्दै गए । डेढ बर्षबीचमा उनलाई भेट्न परिवारका सदस्य पनि ग्यारेजमै पुग्नु पर्थ्यो । आँटेको काम गरिछाड्ने प्रमोदले अन्ततः जहाज तयार पारेरै छाडे । जहाज बनाउँदाको क्षण उनले सिसी टिभिमा रेकर्ड गरिराखेका थिए ।

कुल लागत डेढ करोड नेपाली रुपैयाँमा बनेको जहाज अन्ततः ग्यारेजबाट हवाइ मैदानमा पुग्यो । जुन १४ २०१८ मा जहाजले पहिलो उडान भर्यो र सफलतासाथ अमेरिकी सरकारको हवाइ विभागमा सूचिकृत हुँदै नियमित उडान अनुपति पनि पायो ।

विदेशी भूमीमा आफ्नो तिक्ष्ण प्रतिभा र अथक परिश्रम गरेर आफूसँगै देशको नाम उचाइमा पुर्याउने प्रमोद रेग्मीलाई यो सफलताको लागि हार्दिक बधाइ । प्रमोदको यो उत्कृष्ट प्रतिभाको सम्मानमा कृपयाँ यो भिडियो सक्दो धेरैमाझ फैलाउन मद्दत गर्नुहोला । धन्यवाद ।