877 views 0 secs 0 comments

कहाँ थीयो मुटु…?

In बिचार
१३ आश्विन २०७५, शनिबार १२:५७

मुटु !

देख्यौ तिमीले ?

‘क’ पनि नपढेका हली बाले 

‘पढ् कि पढ्’ भनेर लगाउने 

लट्ठी र सिस्नुपानीमा

मुटु थियो !

भेट्यौ तिमीले ?

बाको खल्ति बाट 

तिमीले चोरेको पैसाको 

भरपाई गर्न 

आमाले सुनारकोमा 

बेचेका मुन्द्रामा

मुटु थियो !

महसूस गर्यौ तिमीले ?

विमानस्थलमा डाँको छोडी 

संगिनी रूँदा 

पैसा कमाएर किन्ने सपनाको कथा 

कति हाँसी हाँसी सुनाएथ्यो 

खाड़ी लाहुरेले छुटिने बेला !

हो,

त्यही रुखो बुको आस 

 

रुन्चे हाँसोमा 

मुटु थियो !

सायद कैलै लागेन तिमीलाई ,

तिम्रा रहरको अघि 

कैयौं रात ऊ निदाएन 

तर 

कैलै भनेन ‘म निदाइन’ !

तिम्रा खुसीमा 

ऊ चमक्क चम्केन कहिलै 

गमक्क परेर तस्वीर मात्र खिचिरह्यो !

एल्बम पल्टाएर हेर त एकपटक, 

मुस्कुराएका तिम्रा प्रत्येक तस्वीरमा 

तिमीले बिर्सिएको मित्रको 

मुटु छ !

मूर्ख तिमी !

महँगो कार्ड किनेका छौं

बुके गुलाब र उपहार किनेका छौ 

अनि 

उभिएका छौ

मुटु पाइन्छ भनेर लाइनमा !

लहै लहैमा …

अरे साथी 

मुटु पाउनलाई त 

मुटु देख्ने 

मुटु चाहिन्छ क्या, मुटु … !

                                    ✍️हेमन्त गिरी,टोकियो