
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन्। असोज १३ गते शनिबारदेखि शुरु हुने सहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासलले विमललाई भित्र्याएको हो।
अन्य ठूला क्लबले विमललाई अनुबन्धन गर्न प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो। च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको हो। विमललाई क्लबमा आबद्ध गर्न थ्री स्टारले प्रयास गरेपनि अन्तिम समयमा कुरा नमिलेपछि विमल च्यासल गएका हुन्।
च्यासलले विमलसँग सम्झौता भएको पुष्टि गरेपनि सम्झौताको रकम भने खुलाएको छैन्। च्यासलले ‘ए’ डिभिजनका लागि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको जनाएको छ। चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबबीच हुनेछ। दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएका कारण केही समयका लागि लिग स्थगित हुनेछ।