सुनको अण्डा पार्ने कुखुरै काट्ने त हैन नि … मन्त्रीज्यू,

In आर्थिक, देश
३ आश्विन २०७५, बुधबार १२:१४

काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास हुन्छ, हामी वातावरणसँग जोडेर दिगो विकासको कुरा गरिरहेका छौं ।
हामी समृद्धि भनेको आर्थिक रुपमा मात्रै समृद्ध हुनु मात्रै हैन । समृद्धि सबैलाई बाँड्नुपर्छ । समृद्धि भविष्यलाई पनि चाहन्छि । त्यसका लागि वातावरणलाई पनि ख्याल गर्नुपर्याे । वातावरण र विकास भनेकै सँगैसँगै जाने एउटै रथका दुईटा पांग्रा भनेजस्तै हो । यो नबुझ्दा समस्या आएको हो ।
हामी एयरपोर्ट बनाउँदैछ, यत्रो ठूलो एयरपोर्ट बनाउँदैछौं । वातावरणविद्हरुले २–४ वटा रुखको कुरा गर्छन् भन्ने गुनासो छ । त्यसो होइन । वातावरणको मुद्दा के छ ? अहिलेसम्म आइरहेको कुरा भनेको रुखको हो । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हरेक प्रोजेक्टमा प्राविधिक र वित्तीय सम्भाब्यता अध्ययन गरिए जस्तै यो वातावरणीय असरको मूल्यांकन हो ।

अहिले प्रश्न उठाइएको छ । प्रश्न उठेपछि त्यसको विरोध गरिहाल्नुपर्दैन । लोकतन्त्रमा जनताले प्रश्न गर्नु भनेको स्वाभाविक हो । प्रश्न गरेन भने पो समस्या हुन्छ । विज्ञले प्रश्न गरेको झनै राम्रो । प्रश्न नगर्ने विज्ञ के काम ? जे–जे भने पनि ‘एस सर’ भन्ने विज्ञ हुँदैन
खुला छलफल भएन । कोठे रिपोर्ट बन्यो । अझ यो त कम्प्युटरभित्र मात्रै बन्यो कि भनेर पो देखियो । फिल्डमै पो गएनन् भन्ने आशंका छ । यत्रो ठूलो प्रोजेक्टको लागि त विस्तृत ईआईए रिपोर्ट बन्नुपर्ने हो ।निजगढ एयरपोर्टको ईआईए रिपोर्ट तयार छ । पहिलो समस्या त्यसमै छ । त्यो रिर्पोट तथ्यमा आधारित र गुणस्तरीय छैन । एउटा हाइड्रोपावरको रिपोर्टको अंश नै त्यसमै मिसिएको भनिएको छ । भनेपछि छर्लङ्गै भयो, रिपोर्ट बनाउने प्रक्रियामा पनि प्रश्न छ । रिपोर्ट बनाउँदा नै सबै विषयमा छलफल हुनुपथ्र्यो । सरकारले यस्तो रिपोर्ट बन्दैछ, यसमा ठूलो सार्वजनिक बहस हुन लागेको छ, आउनुस्, छलफल गरौं भनेको कहिल्यै सुनिएन । मैले चाँही सुनिनँ ।
रुखको मात्रै कुरा होइन, २४ लाख रुख काट्दा त्यसको वरपरको वातावरणमा कस्तो असर पर्छ ? त्यो भनेको त्यहाँको जीवजन्तुमा पर्ने असर हेर्नुपर्ने हो । त्यहाँ हात्तिको वास्थस्थान छ भनिएको छ । यो पर्सा वाइल्डलाइफ रिजर्भसँग जोडएको क्षेत्र हो । यसले त्यहाँको वाइल्ड लाइफ मुभमेन्टलाई असर पर्छ भनिएको छ । जीवजन्तुलाई के असर पर्छ भन्ने कुरा त ईआईएमा स्पष्ट आउनुपर्ने हो । अर्को त्यहाँको माटो र पानीलाई प्रत्यक्ष असर गर्छ । हामीलाई थाहा छ, त्यसै पनि तराईमा पानी सुकिरहेको छ । ट्युबेलमा पानी तल गएको गयै छ । तराईको जनसंख्या बढेको बढ्यै छ । हाम्रो आधा जनसंख्या त्यहीँ बस्छ । हाम्रो अन्न भण्डार पनि त्यही हो । त्यहाँको पानी त हाम्रो लागि निकै महत्वपूर्ण हो । त्यहाँ त्यत्रो रुख काट्दा त्यहाँको पानीलाई के असर पर्छ भनेर विस्तृत अध्ययन भएकै छैन । रुख काट्दा, एयरपोर्ट बनाउँदा शहर नयाँ बनाउँदा के असर पर्छ भनेर किन विस्तृत अध्ययन भएन ?
यत्रो ठूलो प्रोजेक्टलाई खेलाँचीको भरमा ईआईए एउटा पास गर्नुपर्छ, लौ न लौ एउटा बनाएर पास गरौं भनेर गरेको गरेको जस्तो देखियो । यहाँ ईआइएको प्रक्रिया सही रुपमा भएन र त्यसको रिपोर्ट पनि सही रुपमा आएन ।
दोस्रो समस्या कहाँ छ भने कति जग्गाको कति रुख काट्ने भन्ने नै टुंगिएन । ईआईएले ८ हजार हेक्टरको भनेको छ, मन्त्रीज्युले अस्ति २५ सय हेक्टर हो भन्नुभयो । ल्याण्डमार्कको रिपोर्टमा १३ सय भनिएको रहेछ, अन्योल नै अन्योल छ । वन कति काट्ने हो ?
एक दुई हेक्टरको फरक हो र ? यो त हजारौं हेक्टरको फरक भयो । विरोध भएपछि ८ हजार हेक्टरबाट २५ सयमा झर्याे । फेरि १३ सय हेक्टरको कुरा आएको छ । यदि ल्याडमार्कले १३ सय भनेको थियो भने हामी किन २५ सय भनिरहेका छौं ? त्यो पनि पहिलो चरणका लागि मात्रै हो भनिएको छ । ईआईएको रिर्पोटमा ८ हजार हेक्टर चाहिने र त्यसमा ८५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको क्षेत्र भनिएको छ । के हो, के हो ?
अब संसारकै ठूला एयरपोर्टहरु हेरौं । चीन जस्तो देशको सबैभन्दा ठूलो एयरपोर्ट संघाईमा छ । त्यो ३ हजार ९ सय हेक्टरमा फैलिएको छ । हामीलाई चीनको सबैभन्दा ठूलो साइजको एयरपोर्टभन्दा पनि ठूलो साइजको किन चाहियो ? हामीले उत्तर मात्रै खोजेका हौं । त्यो अहिलेसम्म आएको छैन, यसकारण चाहियो भन्नुपर्याे ।
खाली रटान लगाइएको छ, एयरपोर्ट चाहियो–एयरपोर्ट चाहियो । म पनि भन्छु, चाहियो । नयाँ दिल्लीको इन्दिरा गान्धी जस्तो विशाल एयरपोर्ट २ हजार हेक्टरको छ । दिल्लीको भन्दा ४ गुणा ठूलो एयरपोर्ट किन चाहियो हामीलाई ?
व्यस्तताको हिसावले नै हेरौं । युरोपकै सबैभन्दा व्यस्त एयरपोर्ट हो, हिथ्रो एयरपोर्ट । त्यो पनि २ हजारभन्दा कम हेक्टरमै बनेको छ । संसारकै सबैभन्दा व्यस्त एयरपोर्ट कुन हो ? अमेरिकी एट्लान्टोको एयरपोर्ट । त्यो पनि २–३ हजार हेक्टरकै हो । ए बाबा ! संसारकै व्यस्त एयरपोर्ट हामी बनाउन खोज्दैछौं त ?
मान्छेले भनेका छन्, विकास गर्दा संसारकै राम्रो हुने गरी काम ताक्ने नि त ! ठिक छ ।