
नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।
बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ। बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ।
प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ। केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार औषत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ। सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ।