
काठमाडौं,माघ २४ – पहिलो किस्ता ५० हजार अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने, ‘सुरुमा गोरखापत्रमा सूचना निकालेर सचेत गराउँछौं। पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुन्छ।’ कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए।
माघ २३ सम्म उपत्यकाका तीन सहित १४ जिल्लाका ५ लाख १० हजार १ सय ३० जनाले पहिलो किस्ताको रकम लिइसकेका छन्। प्राधिकरणले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ सम्बन्धित जिल्ला विकास समितिमा पठाइसकेको छ। अहिलेसम्म करिब २७ हजार घर निर्माणाधीन रहेको तथ्यांक प्राधिकरणसँग आइपुगेको छ।