
भदौ १ देखि नयाँ देवानी संहिता कार्यान्वनमा आएसँगै शिशुको घटनादर्ताका सन्दर्भमा असमझदारी भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको छ । देवानी संहिताले तोकेबमोजिम बाहेकको अवस्थामा विवाह भई शिशु जन्मिएमा के आधारमा घटना दर्ता गर्ने ? विवाह दर्ता हुने कि नहुने भन्ने विषयमा राय मागेको हो ।
नयाँ संहिताले केटा तथा केटीको विवाहको उमेर २० वर्ष कायम गरेको छ भने सो उमेरभन्दा अगाडि विवाह भएमा खारेज हुने प्रावधान राखेको छ । यस्तो अवस्थामा जन्म लिएको शिशुको बाबुआमाको नाम खुलाएर घटना दर्ता हुने तर बाबुआमालाई श्रीमान श्रीमतीको मान्यता दिएर विवाह दर्ता भने नहुने कानुन मन्त्रालयले राय दिएको मन्त्रालयका प्रवक्ता रमेश ढकालले रातोपाटीलाई जानकारी दिए ।
यसअघिको कानुनमा विवाहका लागि केटीको उमेर १८ वर्ष र केटाको उमेर २० वर्ष कायम गरेको थियो । अब २० वर्षअघि केटा वा केटीको विवाह भएमा बालविवाह मानिने छ र कानुनले त्यसलाई स्वत बदर गरिदिने व्यवस्था छ ।
एकातिर कानुनले २० वर्षअघिको विवाहलाई बालविवाह र बहुविवाहलाई खारेज गर्ने व्यवस्था गरेको छ भने अर्कोतिर त्यतो अवस्थामा जन्मिएका शिशुलाई व्यक्तिगत घटना विवाह, जन्म, मृत्यु दर्तासम्बन्धी ऐनका आधारमा माता पितालाई सूचक मानेर जन्मदर्ता गर्ने प्रावधान पनि राखेको छ । यस्तो अवस्थामा विवाह दर्ता गर्न मिल्छ कि मिल्दैन भनेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मागेको रायमा कानुन मन्त्रालयले विवाह दर्ता गर्न नमिल्ने भन्दै राय पठाएको मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।
नयाँ संहिताका यस आधारमा २० वर्षअघि विवाह गरेर वा बहुविवाह गरेर शिशु जन्माए शिशुको जन्मदर्ता गर्दा कानुनले बाबुआमाको मान्यता दिनेछ भने श्रीमान श्रीमतीको रूपमा विवाहदर्ता भने गर्नेछैन ।