माघ १७, काठमाडौं । आज माघ १७ गते बुधवार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । खग्रास चन्द्रग्रहण साँझ ५ : ३२ बजे शुरु भएर ७स: १६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ ।
सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णिमा मात्र लाग्ने गर्दछ ।चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्दा पूर्णग्रास चन्द्रग्रहण हुन्छ । यो दुर्लभ खग्रास चन्द्रग्रहण १५२ वर्षपछि लाग्न लागेको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमका अनुसार “शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”,।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ ।तर यी राशि भएकाहरुले खुला आँखाले भने ग्रहण हेर्नुहुँदैन ।यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।
यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।