काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।
दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भट्टराईको सुझाव छ । ‘एकता घोषणा भएकै दिन दुई पार्टीका नेताले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ, त्यसो भए उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुन्छ,’ ओली र दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले राजनीतिमा १०० पूर्णांकमा शतप्रतिशत अंक पाएको उल्लेख गर्दै भट्टराईले भने, ‘उहाँहरुले हावर्ड र अक्सफोर्डमा नेपालको शान्तिप्रक्रियाबारे पढाउन गए हुन्छ ।’
हावर्ड र अक्सफोर्डमा विश्वका धेरै नेताहरुले अध्यापन गराउन गएको एमाले सञ्चार इलाका कमिटीले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले उदाहरण पेस गरे । उनले एमाले र माओवादी केन्द्र एकता हुनेमा कुनै शंका नभएको बताए ।
संसदीय निर्वाचनपछि पुरानो संसद जानु र नयाँ आउनु संसदीय व्यवस्थाको सामान्य प्रचलन भएको उल्लेख गर्दै भट्टराईले तर कांग्रेसले सत्ता नछाडेर ‘नकचरोपन’ देखाएको बताए । ‘बेलायत र भारतमा पनि बहालवाला प्रधानमन्त्रीको पार्टीले हार्दा सर्लक्क छाड्छन्,’ नियम कानुनभन्दा पनि राजनीतिक नैतिकता माथि हुने बताउँदै उनले भने, ‘हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा नकचरो तालले सत्तामा टाँसिनुभएको छ ।’
वंशजका अन्तिम शासकले अन्तिममा चुरीफुरी यस्तै हुने बताउँदै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले कांग्रेस अबको पचासौं वर्ष सत्ता बाहिर हुने जिकिर गरे । ‘ज्ञानेन्द्रले पनि अन्तिममा आफैँ प्रधानमन्त्री हुने, फुलमाला लगाउने, मन्त्री छान्ने काम गरे,’ उनको भनाइ छ, ‘देउवाको चुरीफुरी पनि स्वभाविक हो, कांग्रेस ५० वर्षसम्म सत्तामा आउन सक्दैन ।’
भट्टराईले कांग्रेसलाई नैतिकता र लोकतन्त्रको पाठ जति पढाए पनि चेत नआउने बताउँदै भने, ‘हामीलाई त्यति दुखमनाउ छैन, दुई चार जनालाई प्रदेश प्रमुख आउलान्, भोलि हाम्रो सरकार बनाएपछि हामीलाई नै स्यालुट गर्छन्, कांग्रेसलाई यस्ता कुरा सुनाउनु भैंसीलाई बिणा बजाएजस्तै हो, सर्प भए पो नाच्नु ।’
भट्टराईले निर्वाचन आयोगका कामहरु सन्तोषजनक नभएको बताउँदै विवेकले काम गर्न सुझाव दिए । ‘निर्वाचन आयोगले जसरी काम गरेको छ, हाम्रो आपत्ति छ,’ उनको भनाइ छ, ‘विवेकले काम गर्नुस्, नेपाली टोपी लगाएर अरुकै काम गर्ने भए बेग्लै कुरा, होइन भने के नाटक गरेको ?’
राष्ट्रियसभाका लागि पुन: दल दर्ता गर्ने कार्यतालिका निकालेर आयोगले नौटंकी गरेको भट्टराईको भनाइ छ ।