नेपाली साहित्य जगतकी युवा साहित्यकार दीपा दाहाल दीपहरिकाे “सेताे नियती” शीर्षककाे कविता…

In मनोरञ्जन
६ बैशाख २०७७, शनिबार १९:४६

सेताे नियति
****
बुबा,
हिजाेसम्म म नराेएकी कहाँ हाे र ?
मान्छेहरूले मेराे चाहनामाथि सामूहिकरूपमा कामुक अाँखा गाडे भनेर ।
समयकाे निष्ठुर पाङ्ग्राे घुम्दै जाँदा
तिनै कामुक मान्छेका दूत बनेर निस्किए जून, हावा र ऐना पनि ।
अाज हेर्नुहाेस् त
मेरा चैतकाे बगरजस्ता अाँखामा त के
मनमा समेत अाँसु छचल्किन छाडिसकेकाे छ ।
मान्छे त परकाे कुरा
मलाई जून, हावा र ऐनाले समेत जिस्क्याइरहेछन् ।

जुनले भन्छ
मेराे भाग्य पनि खाेटाे छ
लाइका र अार्मस्ट्रङका पैलालाले लुटिरहन्छन् मेराे कुमारी अस्मिता….!
अनि डाँडाकाँडाकाे दाेछायाँलाई दाग भनिदिन्छन् ।
कहाँ कहाँ दाग लाग्छ कुमारीकाे ?
म अवाक हुन्छु जुनकाे भाग्य देखेर
जुन जूनकाे उज्यालाेमा हेर्थेँ म हरेक रात
मेराे अभावकाे फिका सिन्दुरी सिउँदाे ।

हावाले जिस्क्याउँछ
फुक्काफाल भएर फर्फराइदिन्छ अाँचल
जुन अाँचलकाे लहरका छिद्रबाट सिन्दुरका कामुक नजरले ढुसी भइसकेकाे पाैरुष स्खलित हुन्छ ।
र भन्छ, `तँजस्ता खेलाैनासरि खेलिएका……..
हजाराैँ छन् ।´

जब उभिन्छु ऐनाअघि
अाफैँ चर्किन्छ र नून थप्छ मेराे चरक्क पाेल्ने घाउमा
सम्झिन्छु खसेर झर्यापझुरुप फुटेकाे ऐनाजस्ताे मेराेि मनकाे दुर्दशाकाे लम्बेतान दस्तावेज
फुटेकाे ऐनाका हरेक टुक्रासँगै छियाछिया भएकाे
मनकाे मलामी गएर फर्केका सपनाहरूमा ऐनाकाे सादृश्य देख्छु ।
सायद ऐना हुनु अाफू हुनु हाेइन रहेछ-
युगयुगसम्म चर्किरहनु र अरूलाई
अाफू धराप हुनुकाे नसिहत दिइरहनु ऐनाकाे नियति रहेछ ।
साँच्चै बुबा….
के अाफू धराप छु भन्दैमा अरूलाई ऐनाले जसरी
नियतीकाे भीरमा लगेर धकल्दिन मिल्छ र ?
कस्ताे पापी ऐना !
मेराे शीरमा हात राखेर भन्छ, `सधैँ मजस्तै भइरहनु ।´
अाफैँअघि ठडिएकाे ऐनाले यस्ताे कुरुप अाशीर्वाद दिएपछि हजुरकाे सम्झना अाएकाे हाे ।

बुबा तपाईँ अाफैँ भन्नुहाेस् त
किन यी जून, हावा र ऐना पनि
मेराे सेताे नियतिमाथि मान्छेजस्तै गरी इत्रिएका ?