पुस ८ –भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदीमा खसेर बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बसका चालक निदाइरहेका थिए । १६ वर्षका कन्डक्टरले बस चलाइरहेका बेला बसले नियन्त्रण गुमाउँदै नदीमा खसेको प्रहरीले बताएको छ । बसका चालक र कन्डक्टर दुवैको दुर्घटनामा परि मृत्यु भएको छ ।
बनास नदीमा खसेको त्यस बसमा ५० जना यात्रुले यात्रा गरिरहेको जनाइएको छ । दुर्घटनामा परि घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरी अधिकारीले जनाएका छन् ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
त्यस्तै राजस्थान राज्यकी मुख्यमन्त्री बसुन्धरा राजेले राज्य सरकारले उद्धार र घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराखेको बताउनुभयो ।