
पुस ६, २०७४ प्रथम विश्वयुद्धको बेला हराएको अष्ट्रेलियन जलसेनाको पहिलो पानीजहाज १०३ वर्षको खोजपछि भेटिएको छ। अष्ट्रेलियन जलसेनाले युद्धमा प्रयोग गरेको एचएमएएस एई -१ नामक सैन्य जहाज पपुवा न्युगिनीको रबालमा हराएको थियो। सन् १९१४ मा उक्त जहाजसँगै अष्ट्रेलियन र ब्रिटिस गरी ३५ जना चालकदलका सदस्य बेपत्ता भएका थिए। उक्त जहाज खोज्न १३ वटा खोजी मिसन पठाइएका थिए। मिसनले जहाजका भग्नावशेष पपुवा न्युगिनीको यार्क द्वीपको समुद्रमा भेटेको थियो। उक्त खोजसँगै रहस्यमा रहेको सैनिक पानी जहाजको खोजलाई निर्क्यौलमा पुर्याएको अष्ट्रेलियन सरकारले जानकारी दिएको छ। रक्षा मन्त्री मैनिस पायनेले भनिन्, ‘यो अष्ट्रेलियाको जल सेनाको इतिहासमा सबैभन्दा महत्वपूर्ण खोज हो।’ उनले थपिन्, ‘यो रोयल अष्ट्रेलिया जलसेनाको लागि पहिलो घाटा थियो। प्रथम विश्वयुद्धमा हाम्रो देश र सहयोगीहरुका लागि यो एक त्रासदी थियो।’ उक्त जहाज खोज्नका लागि खोज दलले समुद्रको पानीभित्र खोज गर्ने ड्रोनको प्रयोग गरेको थियो। जुन समुद्र सतहभन्दा ४० मिटर भित्रसम्म पुगेको थियो। जहाजको भग्नावशेष समुद्र सतहबाट ३०० मिटरको गहिराइमा भेटिएको थियो। खोजका क्रममा खोजी टीमले जहाजसँगै हराएका चालकदलका सदस्यहरुको स्मारक समेत निर्माण गरेका रक्षामन्त्रीले जानकारी दिइन्। अष्ट्रेलियन सरकारले जहाजसँगै हराएका व्यक्तिहरुका वशंजहरुको खोजी पनि अघि बढाएको छ। रक्षामन्त्रीले भनिन्, ‘यो खोजबाट जहाजसँगै ज्यान गुमाएका परिवारका सदस्यहरुका वंशजलाई शान्ति मिल्नेछ। जहाज डुब्नुको कारण के थियो भन्ने पत्ता लगाउने छौं।’
Read more at:
http://thahakhabar.com/news/28570