राजविराज/सिरहा : सिरहासहित तराई-मधेसका जिल्लाहरूमा तीन दिनयता चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैंजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।
यद्यपि, न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । सडकपेटीमा कपडा बढेको देखिन्छ । सडकपेटीमा सस्तो लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेको चोहर्वाका अजय यादवले बताए । उनका अनुसार स्थानीयले न्याना लुगा जोहो गर्न थालेका छन् ।
बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्यांग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारी साधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम बढेको सवारी चालक बताउँछन् ।
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको गोलबजार स्वास्थ्य चौकीका इन्चार्ज निरञ्जन शाक्यले जानकारी दिए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ ।
बाढीपीडित बढी मारमा
राजविराज : शीतलहरका कारण बाढीपीडित बढी मारमा परेका छन् । घाम नलाग्ने तथा बिहानदेखि बाक्लो हुस्सु अनि चिसो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।
गत साउनमा बाढीका कारण घरबारविहीन भई टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन् । चिसो बढ्दै गएकाले बाढीपीडित अब कसरी दिन कटाउने भन्ने समस्यामा देखिएका छन् ।
जाडो छल्दै छिन्नमस्ताका बालबालिका । अन्नपूर्ण
लोहजरा-८ का भवी रामले टहरामा चिसोले सताउन थालेको बताए । रामले भने, ‘बाढीपछि चिसोले सकसमा पारेको छ, हाम्रो पुनःस्थापनाका लागि सरकारले केही नसोच्दा समस्या भएको हो ।’
चिसोले कठ्यांग्रिँसक्दा पनि सरकारले स्थायी आवासका लागि केही गर्न नसकेको उनीहरूको गुनासो छ । घाम लाग्न छाडेपछि कसरी जीवन सुरक्षित पार्ने भन्ने कुराले पिरोल्न थालेको मैनाकडेरी-६ की विमलीदेवी रामले बताइन् ।
घर बाढीले बगाएपछि टहरामा बसिरहेकाहरूको जीवनयापन कष्टकर हुँदै गएको हो । जाडोको चपेटामा परेका बाढीप्रभावित दलित समुदायलाई चिसो सिरेटोले रात-बिहान पिरोल्ने गरेको बबितादेवी रामले बताइन् । उनका अनुसार घाम नलागेपछि स्थानीयवासी घरबाहिर निस्केका छैनन् । आगो तापेर दिन कटाउने काम भइरहेको छ ।
चिसो बढेसँगै चहलपहल घटेको छ भने बजार क्षेत्र सुनसान देखिएका छन् । बालबालिका र वृद्धवृद्धा चिसोबाट सबैभन्दा बढी प्रभावित छन् । छिन्नमस्ता-३ की रिंकु रामले घाम नलाग्ने अनि चिसो हावा चल्ने गरेकाले घरबाहिर काममा जान समस्या परेको बताइन् ।
बाढीसँगै शीतलहर पनि प्राकृतिक विपत्का रूपमा रहेकाले आवश्यक उपाय अवलम्बन गरी नागरिकलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समिति सक्रिय हुनुपर्ने स्थानीय वैद्यनाथ जोशीको भनाइ छ ।
बालबालिकालाई आगोको सहारा
सुनील ठाकुर
मलंगवा : ३५ वर्षीया सुनितादेवी माझी ४ वर्षीय छोरालाई काखीमा च्यापेर घर अगाडि आगो ताप्दै थिइन् । उनका सन्तानको शरीरको माथिल्लो भाग मात्र कपडाले छोपेको थियो । न्यानो लुगा नभएपछि उनले चिसो छल्न पराल बालेर ताप्ने गरेकी छन् ।
पाँच सन्तानकी आमा सुनिताका पति दिनभर धान काट्न जान्छन् । उनी भने छोराछोरीको रेखदेखमा खटिन्छिन् । पतिको कमाइबाट सात जनाको परिवारलाई खान मात्र पुग्ने बताउने सुनिता सन्तानका लागि न्यानो कपडा किन्न पैसा नपुग्ने सुनाउँछिन् ।
उनीहरूसँग सम्पत्तिका नाममा सानो कटेरो मात्र छ । जहाँ परिवारका सबै जनालाई बस्न पनि अप्ठ्यारो रहेको उनको भनाइ छ । ‘एक जनाको कमाइले दुई छाक टार्नु कि घर बनाउनु ? ’, उनले दुखेसो पोखिन्, ‘न्यायो लुगा कसैले दिए हुन्थ्यो । संघसंस्थाले जाडोमा न्यायो कपडा बाँड्छन् भन्दै आउँछन् । तर हाम्रो गाउँमा कोही आउँदैनन् ।’
परालको आगो ताप्दै मुसहर बालबालिका । सुनील ठाकुर
६० वर्षीया कुसमीदेवी माझीको समस्या पनि सुनितादेवीसँग मिल्दोजुल्दो छ । फुसको झुपडीमा चिसोबाट बालबालिकालाई बचाउन च्यातिएका लुगाले भरथेग गरेको उनले सुनाइन् । भनिन्, ‘मजदुरी गरेर जसोतसो गुजारा चल्छ । नयाँ कपडा कहाँबाट ल्याउनु ? बिहान-बेलुका आगो तापेर चिसो छल्ने गरेका छौं ।’
ओत लाग्ने घरले पनि चिसो छेक्न नसक्ने उनले बताइन् । ‘चुनावमा भोट माग्न आउने नेतालाई घर बनाउनका लागि भनेका छौं । चुनाव सकिएको छ । आउने पाँच वर्षमा घर कसैले बनाइदिन्छ कि !’, उनले आशा व्यक्त गरिन् ।
चक्रघट्टा-७, पटेर्वाको मुसहर बस्तीका अधिकांशले जाडो छल्ने उपाय बनेको छ, परालको आगो । तराई-मधेसमा चार दिनयता चिसो बढेको छ । बस्तीका आधा दर्जनभन्दा बढी मुसहर बालबालिका आगोको वरिपरि झुम्मिएका भेटिन्छन् । ३५ घरधुरी रहेको मुसहर समुदायका बालबालिकालाई पढ्न कुनै विद्यालय नभएपछि उनीहरू दिनभर खेलेरै दिन बिताउने गरेको ३० वर्षीय इन्दल माझीले बताए । उनका अनुसार विद्यालय गएको भए चिसोबाट बच्ने कुरा पनि सिक्थे होलान् । तर, समुदायबाट दुई किलोमिटरको दूरीमा रहेको विद्यालयमा मुसहरका बालबालिका पढ्न जाँदैनन् । आमाबुबा काम गर्न गएपछि बालबालिका खेलेर बिताउँछन् ।