बलिउडमा यौनिक हिंसा नगर्न मन्त्रीको दबाब

In मनोरञ्जन
२ पुष २०७४, आईतवार १२:४६

मुम्बई : भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिएकी छिन्। मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलामाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन्।

उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह समेत गरेकी छिन्। उनले सन् २०१३ को यौनिक हिंसा सम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिइन्।

मन्त्री गान्धीले सबै कर्मचारीलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराएकी छिन्। गत महिना एक भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफूले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताएकी थिइन। उनले ती निर्देशकको नाम भने गोप्य राखिन्।

भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गर्दै आएकी छिन्। ट्वीटरमा लेखेकी छिन्, ‘यौनिक हिंसा सम्बन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ।’

मन्त्री गान्धीले पठाएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सबै संस्थामा गम्भीरतापूर्वक यस्लाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ।रासस