आफ्नै मुहारचित्र उपहार

In मनोरञ्जन
१५ मंसिर २०७४, शुक्रबार १३:०८

मंसिर १५, २०७४-मन परेको मान्छेको तस्बिर आँखाभरि नाचिरहन्छ । सेलेब्रिटीको हकमा त झन् यस्तो हुने नै भयो । कतिपय बलिउड–हलिउड स्टारहरू फयानहरूले बढी नै मन पराइदिँदा तनावमा पर्नुपरेका समाचारहरू बेलाबेला आइराखेकै छन् । यस्ता जबर्जस्त फयान पनि हुन्छन् कि सार्वजनिक रूपमा सेलेब्रिटीलाई अप्ठयारोमै पारिदिन्छन् । तर, यहाँ त्यस्ता फयानभन्दा क्रिएटिभ फयानको कुरा हुँदै छ । वर्षदिनअघि, अभिनेत्री केकी अधिकारी दंग परिन्, जति बेला उनको हातमा एउटा फयानले बनाएको आफ्नै स्केच पर्‍यो । ‘मेरै पोट्रेट (मुहार चित्र) बनाउनुभएको रहेछ,’ उनले भनिन्, ‘मैले पनि प्रेमपूर्वक स्वीकार गरें ।’

केकीलाई यसरी चित्र उपहार पठाउनेचाहिँ एसके श्रेष्ठ हुन् । केकीले तत्काल त्यसलाई फेसबुकमा अपलोड गरिन् एसकेको कलाकारिताको प्रशंसा गर्दै । एसकेबाटै उनलाई प्राप्त उपहारमध्ये अर्को चित्रमा चाहिँ अभिनेता दयाहाङको शालीन मुहार देखिन्छ ।

‘अरू केही फयानहरूले पनि यसरी नै पोट्रेट उपहार दिनुभएको छ,’ केकीले भनिन् ।

आफ्नै अनौठो चित्र उपहार पाएको रमाइलो अनुभव गायिका आस्था राउतसँग पनि छ । उनले हालसालै इन्स्टाग्राममा आफ्नो स्केच राखेर लेखेकी छन्, ‘सो फन्नी’ । हुन पनि उनले भनेजस्तै छ स्केच । एक चिनियाँ साथीले गीत गाउँदै गरेको आफ्नो दृश्य स्केचमा उतारेको आस्थाले बताएकी छन् । स्केचमा आस्था सहरबीच माइक्रोफोन समाएर गीत गाउने मुडमा तम्तयार देखिन्छिन् । आस्थाले आफ्नै चित्र आफूजस्तो छ र भन्दै आश्चर्य पनि व्यक्त गरेकी छन् । यसरी चित्र उपहार पाएको भने यो उनको पहिलो हैन । भारतको सिक्किममा कन्सर्ट सकिएपछि विश्राम गरिरहेको बेला उनका फयानहरूले कोरेको चित्रको तस्बिर पनि उनले सामाजिक सञ्जालमा राखेकी छन् ।

सेलेब्रिटीहरू यस्ता सिर्जनात्मक कलामार्फत फयानहरूले माया दर्साउँदा उत्साहित त पक्कै हुन्छन् । यसको अर्को उदाहरण हुन्, माग्नेबूढा अर्थात् केदार घिमिरे । उनले पनि केही समय पहिले विश्व तामाङले बनाएको आफ्नै पोट्रेट सामाजिक सञ्जालमा राखेका छन् । रमाइलो के छ भने केदारभन्दा पनि माग्नेबूढाको आवरण हुबहु चित्रमा देख्न सकिन्छ । उनले अपलोड गरेको चित्रमाथि व्यंग्यात्मक कमेन्टको ओइरो नै लागेको छ ।

अभिनेत्री प्रियंका कार्कीका पनि कलाप्रेमी फयान निकै देखिन्छन् । खास गरी पेन्सिल स्केच गरेर उनको मुहार चित्र कोर्नहरू प्रशस्तै छन् । तिनलाई पनि प्रियंकाले सामाजिक सञ्जालमा अपलोड गरेकी छन् तर नाम खुलाएकी छैनन् । एउटा पोट्रेटमा लेखिएको देखिन्छ– आर्ट बाई ईशान । सबै पोट्रेटमा प्रियंका खुलेर हाँसेकी देखिन्छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-01/20171201080317.html