बिहेपछि ‘डोमेस्टिक एनिमल’

In मनोरञ्जन
२५ मंसिर २०७४, सोमबार १२:४१

मंसिर २५, २०७४-बिहेपछि महिलाहरू त बदलिइहाल्छन् नै, पुरुषले पनि आनीबानीमा परिवर्तन ल्याउँछन् । विवाहित जोडीले अलिकति यता, अलिकति उता गरेर आपसमा घनिष्ठता, विश्वास र समझदारी बढाउने काम गर्छन् । सेलेब्रिटीहरूका हकमा त यो कुरो झन् लागू हुन्छ ।

 बलिउड अभिनेता शाहिद कपुरले पनि आफू बिहेपछि ‘डोमेस्टिक एनिमल’ भएको टिप्पणी गरेका छन् । भारतको एउटा म्यागजिनसँग ‘पद्मावती’ नायक बिहेपछिको आफ्नो जीवनशैलीका बारेमा यति विघ्न खुलेका हुन् । झट्ट सुन्दा नराम्रो जस्तो लाग्ने विचार राखे पनि शाहिदले दोस्रो बाक्यमा त्यसलाई प्रस्ट्याउँदै भनेका छन्, ‘बिहेअघि म वाइल्ड एनिमल थिएँ । तर बिहेपछि पत्नीले मलाई डोमेस्टिक एनिमलमा रूपान्तरण गरिदिइन् ।’

कुनै समय ‘जब वी मेट’ को–स्टार करिना कपुरसँगको डिप लभ अफेयरमा परेका शाहिद करिनासँगको ब्रेकअपपछि भने झन्डै विक्षिप्त भएका थिए । उक्त समय फिल्म पनि एकपछि अर्को गरी फ्लप हुन थालेपछि शाहिदको करिअर नै धरापमा परेको थियो । ‘हैदर’ उनको करिअरका लागि सञ्जीवनी बुटी साबित त भयो नै, लगत्तै मीरा राजपुतसँग पनि बिहे गरे । त्यसपछि भने उनले सफलता चाखिरहेका छन् ।

‘उनले मेरो जीवनमै आमूल परिवर्तन गरिदिइन्,’ सफलताको सबै जस मीरालाई दिंदै शाहिदले भनेका छन्, ‘पहिले म जंगली जनावर जस्तो जहाँ पायो त्यहीँ भौतारिइरहन्थेँ । तर अहिले मेरो जीवनशैली ठीक समयमा खाने, सुत्ने अनि काम गर्ने गरी पूरै अनुशासित बनेको छ ।’

शाहिद अभिनीत ‘पद्मावती’ ठूलो कन्ट्रोभर्सीका बाबजुद माघ २६ मा रिलिज हुन लागिरहँदा एक पटक उनी फेरि चर्चामा छन् । त्यसो त शाहिद ‘बत्ती गुल मिटर चालू’ मा अनुबन्ध भइसकेका छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-11/20171211085451.html