मंसिर २५, २०७४-समय कसैको नियन्त्रणमा हुँदैन । उमेरसँगै स्वास्थ्य र सौन्दर्यमा आउने परिवर्तन स्विकार्नुको विकल्प पनि हुँदैन । तर, प्रयास गर्ने हो भने उमेरभन्दा भिन्न देखिन सकिन्छ । ताजा उदारहण हुन्, बलिउड अभिनेत्रीहरू रेखा र हेमा मालिनी । सन् १९७० की चर्चित नायिका रेखाको अभिनयको कुरा गर्नु सागरमा डुबुल्की मार्नु जस्तै हो । यी ६३ वर्षीयाको कलाको गहिराइ अनन्त छ । सँगसँगै उनको सौन्दर्यको जादुले अहिले पनि बलिउडलाई आकर्षित गर्छ । सार्वजनिक कार्यक्रमतिर कम सामेल हुने रेखा गत हप्ता एउटा भारतीय टीभी च्यानलको रियालिटी सो ‘सुपर डान्सर’ मा सहभागी भएकी थिइन् । त्यहाँ उनको सौन्दर्य देखेर दर्शक दंग थिए । रेखाले स्टेजमा आफ्नो जमानाको फिल्मी गीत ‘इन आँखों की मस्ती के मस्ताने हजारों हैं…’ मा नाचेर उल्लास बाँडिन् । उनको नृत्यमा कुनै दृष्टिले पनि उमेरको वास्तविकताको छनक देखिँदैन थियो ।
उमेर ढल्के पनि सुन्दर देखिने रेखाको रहस्य के होला ? उनले मिडियालाई बताएअनुसार उनी प्रशस्त पानी पिउँछिन् । दिनहुँ १० देखि १२ गिलास । यसले गर्दा शरीरमा पानीको अभाव हुँदैन । राति बेलैमा सुत्छिन् र बिहान घाम उदाउनुअघि उठछिन् । बेलुका साढे सात बजेभित्र खाना खाइसक्ने उनको नियमित सेड्युल छ । खानपिनले नै शरीरको सौन्दर्य निर्धारण गर्ने उनको बुझाइ भनाइ छ । उनका अनुसार परिकार छनोटमा पनि अत्यन्त संवेदनशील हुनुपर्छ । स्वास्थ शरीरका लागि जंक फुड नखान, हरियो सागपातमा जोड दिन, खानामा झोल पदार्थतिर ध्यान दिन उनी सुझाउँछिन् । रेगुलर एक्सरसाइजको रूपमा उनी डान्स गर्छिन् । राति सुत्नुअघि अनुहार सफा गर्नैपर्ने उनको धारणा छ । उनी दिनभरको मेकअप सधैं क्लिन्जिङ गर्छिन् ।
रेखाभन्दा ७ वर्षले जेठी हुन् हेमा मालिनी । बलिउडमा ‘ड्रिम गर्ल’ को उपमा पाएकी हेमा पनि सौन्दर्यप्रति उत्तिकै सचेत छिन् । सुन्दर देखिन मनभित्रैबाट नकारात्मक भावना त्याग्नुपर्ने उनको विचार छ । रेखाले जस्तै प्रशस्त पानी पिउनु, जंक फुड नखानु हेमाको सेड्युलभित्रै पर्छ । उनी कहिल्यै हेभी मेकअप गर्दिनन् । तेलले मसाज गर्ने उनी अनुहार सधैं मोस्चराइज हुन आवश्यक ठान्छिन् । फेस क्लिन्जिङ गर्नु र बेलुका सुत्नुअघि नाइट क्रिम लगाउनु उनको ब्युटी सिक्रेट हो । त्यस्तै, ६९ वर्षीया ड्रिम गर्लको अर्को सौन्दर्य रहस्य चाहिँ दैनिक साइक्लिङ, डान्स र प्राणायाम हो । सातामा दुईपटक उनी व्रत बस्ने गर्छिन् । व्रतका बेला उनी फलफूल प्रशस्त खाने गर्छिन् । बेलुका आठ बजेभित्र खाना खाइसक्ने उनी कम तैलीय परिकार स्वास्थ्का लागि राम्रो हुने सल्लाह दिन्छिन् ।
http://kantipur.ekantipur.com/news/2017-12-11/20171211085716.html