पुस २, २०७४-वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ९ जनाले जितेका हुन् ।
२ नम्बर प्रदेशमा दुई र ५ नम्बर प्रदेशमा एक मुस्लिमले प्रतिनिधिसभा चुनाव जितेका छन् । प्रदेशसभाका निर्वाचित ९ मध्ये सबभन्दा बढी दुई नम्बर प्रदेशका छन् । १ नम्बर प्रदेशबाट १, २ नम्बरबाट ६ र ५ नम्बर प्रदेशबाट २ जना निर्वाचित भएका छन् ।प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका ५ मध्ये कसैले पनि जित्न सकेनन् । प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सबै पार्टीबाट गरी १३ मुस्लिम उम्मेदवार थिए । मधेसी गठबन्धनबाट उम्मेदवार भएका संघीय फोरमका मोहम्मद इस्तियाक राईले बाँके २ मा ५ हजार ६ सय २४ मतान्तरले चुनाव जिते । २०६४ को पहिलो संविधानसभा पनि जितेका पूर्वमन्त्री राईले सूर्य चिह्न लिएर चुनाव लडेका स्वतन्त्र समूहका पशुपतिदयाल मिश्रलाई पराजित गरेका हुन् ।
रौतहट २ मा वाम गठबन्धनबाट उम्मेदवार भएका एमालेका मुस्ताक आलम कांग्रेस उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमबाट पराजित भए । आफताबले १८ हजार ८ सय ३३ मत ल्याउँदा पूर्वराज्यमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार मुस्ताकले ९ हजार ७ सय ९७ मत प्राप्त गरे । दोस्रो संविधानसभा ०७० को चुनावमा भने मुस्ताकले कांग्रेसका आफताबलाई हराएका थिए । त्यतिबेला उनी फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।
बारा ४ मा राजपाबाट चुनाव लडेका एकबाल मियाँले वाम गठबन्धनका उम्मेदवार एमालेका देवनारायण थारूलाई १ हजार ६ सय ६७ मतले पछि पार्दै चुनाव जिते । वनको जागिर छाडेर उम्मेदवार बनेका मियाँले २२ हजार २ सय ७५ र थारूले २० हजार ६ सय ८ मत ल्याएका थिए ।
रूपन्देही १ मा कांग्रेसबाट उम्मेदवार बनेका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी एमालेका छविलाल विकसँग ७ हजार ८ सय ६७ मतले पराजित बने । संविधानसभाको दोस्रो ०७० को चुनावमा रज्जाकले त्यही क्षेत्रमा एमालेका विकलाई हराएका थिए । रूपन्देही ३ मा संघीय फोरमबाट उम्मेदवार बनेका पूर्ववनमन्त्री मुहम्मद वकिल मुस्लिमले पनि चुनाव हारे । वकिलले संविधानसभाको पहिलो ०६४ सालमा फोरम उम्मेदवार भई रूपन्देहीबाटै चुनाव जितेका थिए । एमालेका घनश्याम भुसालले ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी बन्दा मुस्लिमले १० हजार २९ मतमात्र हात पारे ।
पर्सा २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मोहमद सलिम मन्सुर संघीय फोरमका विमलप्रसाद श्रीवास्तवबाट पराजित भए । श्रीवास्तवले २१ हजार १ सय ६९ मत ल्याउँदा मन्सुरले जम्मा ६ हजार ७ सय २९ मत मात्र पाए । संविधानसभाको दोस्रो ०७० र अघिल्ला चुनाव जितेका
कांग्रेस केन्द्रीय सदस्य श्रममन्त्री फरमुल्लाह मन्सुर यस पटक पराजित भए । संघीय फोरमका रामबाबुकुमार यादव २१ हजार ३ सय ३६ मत ल्याएर विजयी बनिरहँदा मन्त्री मन्सुरले तेस्रो स्थानमै चित्त बुझाउनुपर्यो । उनले जम्मा १० हजार ३ सय ६१ मत पाएर तेस्रो बने ।
महोत्तरी २ मा माओवादीका कासिम नदाफ राजपा अध्यक्ष मण्डलका शरतसिंह भण्डारीबाट पराजित बने । भण्डारीले ३० हजार ७ सय २२ मत पाउँदा वाम गठबन्धनका नदाफले ३ हजार मत कटाउन सकेनन् । महोत्तरी ४ मा पनि वाम गठबन्धनका माओवादी उम्मेदवार रजी हैदर संघीय फोरमका सुरेन्द्रकुमार यादवबाट पराजित भए । यादवले १८ हजार ३ सय ५३ मत ल्याउँदा हैदरले ९ हजार १ सय ५ मत मात्र पाए ।
सिरहा ४ मा कांग्रेस उम्मेदवार मोख्तार अहमद राजपा अध्यक्ष मण्डलका पूर्वमन्त्री राजकिशोर यादवबाट १२ हजार ६ सय ९४ मतले पछि परे । यादवले २१ हजार १ सय ४४ मत ल्याउँदा पूर्वसांसद अहमदले र ८ हजार ४ सय ५० मत पाए । सप्तरी ४ मा वाम गठबन्धनका उम्मेदवार एमालेका मो. इस्लाम कांग्रेसका तेजुलाल चौधरीबाट १२ हजार ८ सय १९ मतान्तरले चुनाव हारे । चौधरीले २४ हजार १ सय १३ मत ल्याउँदा इस्लामले ११ हजार २ सय ९४ मतमै चित्त बुझाउनुपर्यो ।
प्रदेशसभाका ३ सय ३० सिटमध्ये मुस्लिमले ९ स्थानमा जित हासिल गरेका छन् । सुनसरी ४ को (ख) मा कांग्रेसका मोहमद ताहिर मियाँले बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका माओवादीका मोहम्मद जाकिर हुसैनलाई हराए । सप्तरी ३ को (क) मा कांग्रेसका मोहम्मद समिमले राजपाका दिनेश यादवलाई हराउँदै प्रदेश सांसद जित्न सफल भए । राजपाका जयनुल राइनले कांग्रेसका सुशीलकुमार यादवलाई हराएर महोत्तरीको २ (क) का सांसद बने । रौतहटको ४ (ख) मा स्वतन्त्रबाट उम्मेदवार भई शेख अबुल कलाम आजादले एमालेका नागेन्द्र यादवलाई हराए । पर्सा १ को (क) मा संघीय फोरमका जनत अन्सारीले वाम गठबन्धनका उम्मेदवार माओवादीका रहबर अन्सारीलाई पराजित गरे । असोजमा भएको स्थानीय तहको चुनावमा रहबर वीरगन्ज महानगरमा मेयरमा पराजित भएका थिए । पर्सा १ को (ख) मा संघीय फोरमका पूर्वसांसद लालबाबु राउत विजयी बने । पर्सा ३ को (क) मा पनि फोरमकै अब्दुल रहिम अन्सारीले कांग्रेसका चन्द्रकिशोर प्रसादलाई हराउँदै प्रदेश सांसद बने ।
रूपन्देही ४ को (ख) मा कांग्रेसका बसिउद्दिन खाँले माओवादीका सन्तकुमार यादवलाई र रूपन्देही ५ को (ख) मा कांग्रेसकै फखरुद्दिन खानले संघीय फोरमका रमाउती यादवलाई हराउँदै सांसद बनेका छन् । सप्तरी १ को (क) मा माओवादीका सकिल अलि मियाँ राजपाका नवलकिशोर साह सुडीबाट पराजित बने । सप्तरी ३ (ख) मा कांग्रेसका अब्दुल मजिद साकिर राजपाका विन्देश्वरप्रसाद (बीकी) यादवबाट पराजित भए ।
सिरहा ३ को (क) मा कांग्रेसका मुस्ताक अन्सारी माओवादीका रामकुमार यादवबाट पराजित भए । सर्लाही १ को (ख) मा कांग्रेसका शेख साहदुल्लाह एमालेका बेचु लुंगेलीबाट पराजित भए । रौतहट ३ को (क) मा कांग्रेसका मोहम्मद सेराज एमालेका नागेन्द्र यादवबाट पराजय व्यहोर्नुपर्यो । बारा १ को (ख) मा माओवादी उम्मेदवार मोहम्मद इस्लाम अन्सारी कांग्रेसका भागवतप्रसाद साहबाट पराजित भए ।
बारा ३ को (ख) मा एमाले उम्मेदवार मोहम्मद समिम उल्लाह संघीय फोरमका पारसप्रसाद साहबाट पराजित बने भने कपिलवस्तु ३ को (ख) मा गठबन्धनका उम्मेदवार माओवादीका जावेद आलम खाँ कांग्रेसका वीरेन्द्रकुमार कनौडियाबाट पराजित भए ।
http://kantipur.ekantipur.com/news/2017-12-17/20171217065249.html