‘मिस्टर झोले’ ट्रेलर समीक्षा: चलचित्र ‘कबड्डी’ कै ह्याङ्ओभर?

In मनोरञ्जन
२७ मंसिर २०७४, बुधबार १५:०७

काठमाडौं, २६ मंसिर – हलिउडमा मार्भल कम्पनीले कमिकमा आधारित थुप्रै सुपरपावर हिरोका फिल्म बनाइरहेको छ ।  प्रायः उसले शक्तिशाली पात्र चयन गरेर फिल्म निर्माण गर्ने गर्छ । नेपालमा त्यस्ता फिल्म निर्माण भएका छैनन् । बलिउडमा भने त्यस्ता फिल्म निर्माण भएका छन् र सफल पनि भएका छन् ।

तर नेपालमा हास्य (कमेडी) फिल्म निर्माणको बाढी नै आउन थालेको छ । पछिल्लो समयलाई आधार बनाउने हो भने अहिले केही लगानी उठाउन सफल फिल्म पनि यस्तै फिल्म हुन् ।

चलचित्र ‘मिस्टर झोले’ पनि त्यही प्रवृत्ति र मौलिकतामा अटाएको सिनेमा भएको ट्रेलरका आधारमा आँकलन गर्न सकिन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेका फिल्म हेर्ने हो भने प्रायः सबै चलचित्र उस्तै छन् । चलचित्र पुरानो डुङ्गा, कबड्डी, कबड्डी कबड्डी लगायतका चलचित्रको तुलना गर्दा यी सबै फिल्म एकनासका लाग्छन् ।

एकनास यस अर्थमा कि, फिल्मले उठान गर्ने संवेदना, पात्रचयन, कथाशैली र छायांकन सबै कुरामा समानता लाग्छ । गुरुङको पछिल्लो चलचित्र ‘मिस्टर झोले’ पनि यही समस्यामा गुज्रिएको छ ।

चलचित्रको ट्रेलर हेर्दा दयाहाङ राईको भूमिका कबड्डीकै भूमिका हाउभाउ र प्रस्तुतिसँग मिल्दोजुल्दो लाग्छ । साथै अन्य कलाकारको अभिनय पनि उस्तै छ ।

ट्रेलर हेर्दा फिल्मले कुनै गाउँको मौलिक कथावस्तु उठान गर्न खोजेको छ । र तिनै कथावस्तु त पात्रका माध्यमबाट फिल्मलाई कमेडी पनि बनाउन खोजिएको छ ।

त्यति मात्र होइन, ट्रेलरको पार्श्वध्वनि पनि एकैखालको लाग्छ । रामबाबु गुरुङले आफूले निर्माण गर्ने हरेक फिल्ममा उही ‘सूत्र’ दोहो–याएका छन् । अर्थात् फरक प्रयोग गर्न खोजेका छैनन् ।

ट्रेलर रिलिजसँगै चर्चामा आएको चलचित्र ‘मिस्टर झोले’ को ट्रेलर हेर्दा उनकै चलचित्र ‘कबड्डी’ को स्वादमा बनेको चलचित्रका रूपमा औंल्याउन सकिन्छ ।