इटालीको गाउँमा विराट र अनुष्काको विवाह, कस्तो छ रिजोर्ट ?

In मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १५:३७

काठमाडौं, २६ मंसिर — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र फिल्म अभिनेत्री अनुष्का शर्माले सोमवार इटालीमा विवाह सम्पन्न गरेका छन् । ट्विटरमा संयुक्त तस्वीर शेयर गरेर उनीहरूले सबै अनुमानलाई विश्राम दिएका छन् ।

विराट र अनुष्काको बिहेको प्रीतिभोज दिल्ली र मुम्बईमा हुनेछ । पहिलो प्रीतिभोज २१ डिसेम्बरमा दिल्लीमा हुनेछ भने दोस्रो प्रीतिभोज मुम्बईमा २६ डिसेम्बरमा हुनेछ । प्रीतिभोजमा क्रिकेट र बलिउड अनि अन्य क्षेत्रका हस्तीहरू उपस्थित हुनेछन् ।

विराट र अनुष्काले अन्तिम समयसम्म बिहेलाई रहस्यमै राखे । अन्ततोगत्वा उनीहरूले इटालीको फिनोशिटो रिजोर्टमा बिहे गरे ।

बिहे भएको ठाउँमा नै सन् २०१७ को मेमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सपरिवार छुट्टी मनाउन आएका थिए । मध्य इटालीको टस्कनी इलाकामा छ बोर्गो फिनोशिटो रिजोर्ट ।

यो संसारको सबभन्दा महंगो होटलमध्ये एक हो ।

मिलान शहरभन्दा पाँच घन्टा टाढाको दूरीमा रहेको यो ठाउँ ८ सय वर्ष पुरानो गाउँलाई जीर्णोद्धार गरेर बनाइएको हो । गाउँलाई पूरै नयाँ लूक दिइएको छ ।

वाइनका लागि प्रसिद्ध मोन्टालकिनोनजिक भएका कारण रिजोर्टवरिपरि अंगुरको बगैंचा छ । इटालीमा अमेरिकाका एक पूर्वराजदूत जोन फिलिप्सले सन् २००१ यो जमीन किनेका थिए र आठ वर्षमा यसलाई सुन्दर रिजोर्ट बनाए ।

रिजोर्टमा पाँच भिल्ला र जम्मा २२ कोठा छन् । त्यसैले विराट र अनुष्काको विवाहमा पुग्ने मानिसको संख्या सानो थियो । खानपान र वाइनका लागि प्रसिद्ध रिजोर्ट सबै आधुनिक सुविधायुक्त छ ।

यस रिजोर्टमा संसारका प्रसिद्ध हस्तीहरू बसिसकेको दाबी गरिएको छ ।