जनमुखी नभई धनमुखीलाई उम्मेद्वार बनाउनु काँग्रेसको सबभन्दा ठूलो गल्ती

In राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:४७

काठमाण्डौ । राजनीतिमा हार र जित स्वभाविक नै मानिन्छ । हरेक लोकतन्त्रको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास बोकेको नेपाली कांग्रेस यस पटकको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निकै कमजोर सावित भयो । बाम गठबन्धनको जितका आफ्नै कारण होलान् तर कांग्रेसको हारमा अनेकन आन्तरिक कारण रहेका छन् । आन्तरिक कलह र सैद्धान्तिक आधारमा देखिएको नेतृत्वको विचलन नै कांग्रेसको हारका प्रमुख कारण मानिने कतिपयको तर्क छ ।

प्रत्यक्षतर्फको निर्वाचन र समानुपातिकतर्फ आएको मतलाई हेर्ने हो भने कांग्रेसको हारको प्रमुख कारण नेतृत्वको असक्षमता नै देखिएको छ । प्रत्यक्षतर्फ उम्मेद्वार चयनमा कांग्रेसको कमजोरी देखिएको छ । समानुपातिकमा एमालेसँगैको हाराहारीमा उभिएको कांग्रेस प्रत्यक्षतर्फ भने माओवादी केन्द्र भन्दा पनि पछि रहेको छ । कांग्रेस धकेलिनुमा कम्युनिष्टहरूको रणनीतिक सफलता मात्र होइन कांग्रेसकै नीति र रणनीतिमा समेतमा कमजोरी रहेको कतिपयको ठम्याई छ ।

समानुपातिकमा कांग्रेसले ३० प्रतिशतको हाराहारीमा मत ल्याउने प्रारम्भिक परिणामले देखाएको छ । यसैले कांग्रेसको यो हारलाई रणनीतिक हारमात्र भने पनि हुन्छ । अर्थात नेतृत्वले रणनीति बनाउन निकै कमजोरी गरेको यसबाट प्रष्टिदै गएको देखिन्छ । कांग्रेसले आफ्नो मूल नीति विर्सदै जानु उसको प्रमुख कमजोरी मान्न सकिन्छ । नीतिका आधारमा नेपाली कांग्रेसले २०४८ सालदेखि नै गलत बाटो रोजेको थियो । तर, रणनीतिक चातुर्य र केही हदसम्म जुझारु प्रवृत्तिले कांग्रेस २०६३ सालसम्म नेपालको राजनीतिको केन्द्रमा स्थापित भइरह्यो । २०५९ सालमा पार्टी विभाजनको पीडाबाट मुक्त हुन नसकेको कांग्रेसका लागि अहिलेको परिणाम त्यहाँबाटै तानिन्छ । पार्टी एकीकरण भएयता पनि दुई पार्टीको अभ्यासमा उभिएको कांग्रेसको दीर्घकालिन योजना शून्य नै बन्यो ।

शेरबहादुर देउवा पार्टी नेतृत्वमा आएपछि उनको कार्यशैली सिमित घेरामा मात्र रहनु कांग्रेसका लागि अर्को घात बन्यो । अर्कोतर्फ स्थानीय तह निर्वाचनमै कमजोर बन्दै गएको कांग्रेसले थप नयाँ रणनीति अख्तियार गर्न सकेन । देउवा नेतृत्वमा प्रहरी प्रमुख नियुक्ति विवाद, प्रधानन्यायाधीश प्रकरण जस्ता विवादमा कांग्रेस तानिनु अर्को कारण बन्यो । यी सैद्धान्तिक र कार्यशैलीमा देखिएको कमजोरी मात्र कांग्रेसको हार होइन । उम्मेद्वार छनौटमा शेरबहादुर देउवाले जनमुखि भन्दा धनमुखीलाई प्राथमिकता दिंदै जानु पनि हारको कारण मान्नेको कमी छैन, कांग्रेस भित्रै । जित्न सक्ने र कार्यकर्ता तथा जनता माझ लोकप्रिय व्यक्तिलाई सधैव पाखा लगाउने कांग्रेस नेतृत्वको प्रयास आफैंमा घातक बन्न पुग्यो । उमेदवार छान्ने बेलामा गुटका कृपापात्र हुनु अनिवार्य भयो । तलका कार्यकर्ताले उमेदवार छान्न पाएनन् ।

पार्टीको घोषणापत्रमा सामान्य कार्यकर्ताको भावना समेटिने त संयन्त्र र अभ्यास शून्य बन्यो । यता बाम गठबन्धनका रुपमा एमाले माओवादी एक ठाउँमा उभिदा कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाम त दियो तर गठबन्धन जोगाउन सकेन । कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंहहरुका कारण गठबन्धन अलपत्र बन्यो । यी र यस्तै–यस्तै कारण कांग्रेस यो निर्वाचनबाट निकैपछि पर्न पुग्यो । अब कांग्रेसले आफूलाई तल्लो तहसम्म पार्टी संगठन निर्माण र सैद्धान्तिक स्पष्टता दिन सके पुनः अर्को निर्वाचनमा उठान हुने निश्चित छ । अन्यथा शिला खोज्ने अवस्था नआउला भन्न सकिन्न ।