612 views 2 secs 0 comments

मोरङका विजयी

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:१६

मंसिर २३, २०७४-जारी निर्वाचनमा देशकै सबैभन्दा बढी मतदाता रहेको जिल्ला मोरङबाट प्रतिनिधिसभा सदस्यका रूपमा प्रतिधिनित्व गर्ने ६ जनामध्ये एमालेको भागमा तीन, माओवादीका दुई र कांग्रेसका एक जनाले अवसर पाएका छन् । यीमध्ये केही अघिल्ला निर्वाचनमा पनि विजयी भइसकेका र समानुपातिकबाट प्रतिनिधित्व गरेका अनुहार हुन् । विद्यार्थी, शिक्षक हुँदै राजनीति सुरु गरेका उनीहरूले अब मुलुक संघीय संरचनामा गएसँगै गठन हुने प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन् ।

 शिक्षकदेखि सांसदसम्म

मोरङ १ बाट विजयी एमालेका घनश्याम खतिवडा शिक्षक, भूमिगत राजनीतिक कार्यकर्ता, तत्कालीन स्थानीय निकायको प्रतिनिधि हुँदै प्रतिनिधिसभा सदस्यसम्म आइपुगेका छन् । सामुदायिक वन र सहकारी अभियानमा समेत लामो समय लागेका उनी मोरङको लेटाङका बासिन्दा हुन् ।

२०१८ कात्तिक १२ गते ताप्लेजुङको नाङखोल्याङमा जन्मेका खतिवडा १५ वर्षकै उमेरबाट राजनीतिमा सक्रिय भएका हुन् । २०३३ सालमा तत्कालीन कोर्डिनेसन केन्द्रको बाल रेडगार्डबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०३८ सालमा तत्कालीन मालेको पार्टी सदस्यता लिएका थिए । २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ देखि ०६७ सालसम्म एमाले मोरङको जिल्ला सदस्यका रूपमा क्रियाशील थिए । त्यसपछि एमाले कोसी अञ्चल समन्वय कमिटीको सदस्य हुँदै हाल १ नम्बर प्रदेश कमिटी सदस्य छन् ।

राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका खतिवडाले मोरङको केराबारीस्थित बुद्ध निमाविमा चार वर्ष शिक्षण गरेका थिए । पछि तत्कालीन माले पार्टीले पञ्चायती राजनीतिमा पार्टी हस्तक्षेपको नीति अगाडि सारेपछि उनी स्थायी जागिर छाडेर २०४३ सालमा तत्कालीन लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारको रूपमा प्रधानपञ्चको उम्मेदवार भएका थिए ।

प्रजातन्त्र पुन:स्थापनापछि २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालीन लेटाङ गाविसको अध्यक्षमा निर्वाचित भए । २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा एमालेबाट उठेर पराजित भएका उनले यसपालि कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलाई हराएका हुन् । विजयपछि उनले जनताका पक्षमा काम गर्ने अवसर पाएको भन्दै यसका लागि आफ्नो मेहनत रहने प्रतिक्रिया दिए ।

फर्कियो विरासत

मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मीनेन्द्र रिजाल विजयी भएका छन् । उनले एमालेका निवर्तमान सभासद ऋषिकेश पोखरेललाई १ हजार ६ सय ९० मत अन्तरले पराजित गरे । रिजालले ३४ हजार ७ सय ८२ मत ल्याए ।

पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका रिजालको यो जितसँगै उक्त क्षेत्रमा कोइराला परिवारको विरासत फर्किएको छ । यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले गुमाएको थियो । यहीँबाट कांग्रेसका गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी–५ मा विजयी कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले जितेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई ३ सय ५८ मतले पराजित गरेका थिए । रिजाल पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट चुनिएका थिए । उनले आफ्नो क्षेत्रको विकास र जनताको सुविधाका लागि सक्दो प्रयास गर्ने जनाएका छन् ।

विद्यार्थी राजनीतिबाट प्रतिनिधिसभासम्म

मोरङ ३ मा एमालेका भानुभक्त ढकालले कांग्रेस उम्मेदवार सुनील शर्मालाई पराजित गरेका छन् । ढकालले तेह्रथुमको म्याङलुङस्थित सिंहवाहिनी माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष भएर राजनीति सुरु गरेका थिए । २०१८ कात्तिकमा तेह्रथुमको ओख्रेमा जन्मेका उनी अखिलको तेह्रथुम जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष, काठमाडौं जिल्ला कमिटी कोषाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय महासचिवसमेत भएका थिए ।

विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील रहेका उनले २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका थिए । उपत्यका नेकपा एमाले संगठन विभागप्रमुख समेत भएर काम गरे । हाल पार्टीको संगठन विभागको उपप्रमुख रहेका ढकाल २०७० मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । संविधान मस्यौदा समिति सदस्य र संसद्मा एमालेको प्रमुख सचेतकको जिम्मेवारीमा पनि उनी थिए ।

फेरि संसदमा

मोरङ–४ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यलाई पराजित गरेका माओवादी केन्द्रका अमनलाल मोदी सशस्त्र द्वन्द्व समाप्ति र शान्ति प्रक्रिया सुरु भएसँगै खुला राजनीतिमा आएका हुन् । २०४२ असोज ५ गते मोरङको डंग्राहामा जन्मेका उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

२०५७ सालमा तत्कालीन माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको गाउँ इकाई कमिटी सदस्य, ०५७ मा एरिया सदस्य हुँदै ०६२ मा अखिल क्रान्तिकारी मोरङको जिल्ला अध्यक्ष भएका थिए । ०६३ मा मोरङ क्षेत्र ७ अन्तर्गत एरिया इन्चार्ज, ०६४ सालमा थारू राष्ट्रिय मुक्तिमोर्चाको मोरङ जिल्ला अध्यक्ष बनेका थिए ।

यस्तै कोचिला राज्यको संयोजक हुँदै हाल सोही मोर्चाको केन्द्रीय सचिव र माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्यको जिम्मेवारीमा छन् । मोदी २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । संविधानसभाको ५ वर्षे कार्यकालमा उनले संविधान निर्माण मस्यौदा समिति, संसदको अनुगमन तथा सुशासन समितिको सदस्य समेत रहेर काम गरेका थिए ।

बिनाविभागीय मन्त्रीको जित

बिनाविभागीय मन्त्री माओवादी केन्द्रका शिवकुमार मण्डल मोरङ ५ बाट विजयी बनेका छन् । उनले कांग्रेसका अमृत अर्याललाई पराजित गरेका हुन् । २०३२ भदौ १० गते मोरङको गोविन्दपुरमा जन्मेका उनले २०५० सालमा काली मावि कासिजनमा एमालेनिकट अनेरास्ववियुको प्राक अध्यक्षबाट राजनीतिक जीवन सुरु गरेका थिए ।

सोही संगठनको, महेन्द्र मोरङ क्याम्पस प्राक उपाध्यक्ष र मोरङ जिल्ला कमिटी सदस्यसम्म बने । त्यसपछि माओवादीमा लागेका थिए । २०५८ सालमा माओवादीले स्थापना गरेको मधेसी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष बनेर राजनीतिक फडको मारेका मण्डल माओवादी पार्टीका रौतहट र मोरङ इन्चार्ज हुँदै अहिले स्थायी सदस्यको जिम्मेवारीमा छन् ।

सरकार र माओवादीबीच सम्पन्न बृहत् शान्ति सम्झौतापछि गठित संसदको सदस्य बनेका मण्डल संविधानसभाको दोस्रो निर्वाचनमा मोरङ ४ बाट निर्वाचित भएका थिए । उनी २०६४ संविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए ।

कोइरालाको विरासतमा पण्डित

मोरङ ६ बाट विजयी एमाले उम्मेदवार पूर्वमन्त्री लालबाबु पण्डित प्रशासनिक सुधार गर्ने र इमानदार नेताका रूपमा परिचित छन् । २०१५ मंसिर १९ मा सर्लाहीमा जन्मेका उनी २०३५ सालमा बालाजु औद्योगिक क्षेत्रको यन्त्रशालामा प्राविधिक सेवामा कर्मचारी रहँदा मजदुर संगठनको माध्यमबाट तत्कालीन मालेको राजनीतिक सम्पर्कमा पुगेका थिए ।

पण्डितले कांग्रेसका शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका हुन् । कोइराला पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट विजयी भएका थिए ।

पण्डित अहिले एमाले पोलिटब्युरो सदस्य छन् । भूमिगत राजनीतिका लागि सुरक्षित स्थान रोजेर २०३९ सालमा मोरङ आएका उनको मोरङमा मजदुर क्षेत्र र दक्षिणी क्षेत्रमा पार्टी संगठन विस्तारको काममा महत्त्वपूर्ण भूमिका थियो । पण्डित २०४८ र २०५६ का संसदीय निर्वाचनमा पनि विजयी भएका थिए । २०६४ मा भने समानुपातिक कोटाबाट संविधानसभा सदस्य बने । २०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डित डीभी र ग्रिनकार्ड लिने कर्मचारीमाथि कारबाही गर्ने अडानका कारण चर्चामा आएका थिए ।

http://bit.ly/2AFOOjX