मंसिर २३, २०७४-रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।
विना विभागीय मन्त्रीसमेत रहेका शर्माले २०७० सालको संविधान सभा सदस्यको निर्वाचनमा पनि शाहलाई नै फराकिलो मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा शाहको भन्दा शर्माको मत १२ हजार ५ सय ९९ ले बढी थियो । शर्माले २२ हजार ५ सय ७५ मत ल्याउँदा शाहको पक्षमा ९ हजार ९ सय ७६ मत मात्रै खसेको थियो ।
यो निर्वाचनसँगै शर्मा र शाह तीन पटक आमने सामने भए । २०४८ को प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७० को संविधान सभा सदस्य निर्वाचन र यो भर्खर मत परिणाम सार्वजनिक भएको निर्वाचनमा यी दुई जनाबीच प्रतिसप्रधा भयो । २०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र यसपाला शर्माले शाहलाई पराजित गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको मत परिणाम सार्वजनिक भएपछि अब प्रत्यक्षतर्फको मत गणना कार्य सकिएको छ । यसअघि प्रदेश सभा सदस्य तर्फको क र ख दुवै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भैसकेको छ । प्रदेश सभा सदस्यको क निर्वाचन क्षेत्रमा माओवादीका रातो कामी र ख निर्वाचन क्षेत्रमा पनि माओवादीकै गोपाल शर्मा विजयी भएका छन् ।