मंसिर २३, २०७४-प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पाँचथरबाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दस हजार ६ सय १६ मतको फराकिलो अन्तरले विजय प्राप्त गरेका हुन् । वसन्तकुमार नेम्वाङको लागि यो तेस्रो जित हो ।
अन्तिम मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट एमालेका नेम्वाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा सदस्यमा विजय नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले प्रमाणपत्रसहित शपथ गराएका छन् । पाँचथरको कुल मतदाता एक लाख २५ हजार दुई सय १९ जनामध्ये ७७ हजार ८ सय ३ जनाले मतदान गरेका थिए । त्यसमध्ये ७२ हजार ७२ सदर मत र ५ हजार ७ सय ३१ मत वदर भएको छ । निर्वाचन आयोग, निर्वाचन कार्यालय र राजनीतिक दलका कार्यकर्ताले मतदातालाई मतदाता शिक्षा दिन नसकेको मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए ।
फिदिम नगरपालिका–१ फिदिमबजारमा २०१८ साल चैत ८ गते जन्मिएका नेम्वाङ २०४८ र २०५६ सालको आमनिर्वाचनमा सांसद् जितेका थिए । उनी २०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसका दिपकप्रकाश वास्कोटासित पराजित भए । सांसद हुँदा ऊर्जा विकास समितिको सदस्य भइ अनुभव हासिल गरेका नेम्वाङ एमाले केन्द्रीय ऊर्जा विभाग सचिव हुन् ।