नेपालमा झोलुंगे पुल निर्माणका ५२ वर्ष –
झोलुंगे पुल निर्माण थालेको ५२ वर्षमा देशभर ७ हजार ४८ वटा पुल निर्माण भएका छन् । नेपालमा २०२१ सालबाट झोलुंगे पुल निर्माण सुरु भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार व्यवस्थित तथा योजनाबद्ध ढंगले झोलुंगे पुल निर्माण थालिएको ५ दशकमा यो उपलब्धि हासिल भएको हो । झोलुंगे पुल निर्माणको आवश्यकताको तुलनामा निर्माण ढिलो र न्यून भए पनि स्रोत र जनशक्ति विनियोजनको दृष्टिकोणबाट महत्वपूर्ण उपलब्धि भएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए ।
पछिल्ला १२ वर्षमा मात्रै ४ हजारवटा झोलुंगे पुल निर्माण भएका छन् । मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार २०६१ सालसम्म देशभर ३ हजारवटा मात्र झोलुंगे पुल निर्माण भएका थिए । ‘२०६१ पछि १ घन्टाभन्दा बढीको फेरो लगाउनुनपर्ने गरी नदी÷खोला तर्न सुरक्षित तथा भरपर्दो यातायातको सुविधा उपलब्ध गराउने सरकारी नीति बनेपछि झोलुंगे पुल निर्माणले तीव्रता पाएको हो,’ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का महानिर्देशक जीवनकुमार श्रेष्ठले भने । त्यसअघि, झोलुंगे पुल निर्माणको गति सुस्त थियो । झोलुंगे पुल निर्माणले आधारभूत सेवा, सामाजिक र सांस्कृतिक केन्द्रहरूमा पहुँच सुनिश्चित गर्न सहयोग पुगेको विभागको भनाइ छ । तर, अझै ६ हजारवटा पुल निर्माण आवश्यक रहेको विभाग (डोलिडार)का महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
सबैभन्दा धेरै पुल निर्माण भएको वर्ष २०७३/७४
गत आर्थिक वर्ष २०७३/७४ मा कुल ९ सय १५ वटा पुल निर्माणाधीन रहेकामा ५ सय ४८ वटा सम्पन्न भएका छन् । यो एउटै आर्थिक वर्षमा निर्माण भएका सबैभन्दा धेरै झोलुंगे पुलको संख्या हो । सो वर्ष विभागको लक्ष्यभन्दा ४८ वटा बढी पुल निर्माण भएका छन् । गत आवमा कुल ५ सयवटा पुल निर्माण गर्ने लक्ष्य थियो । पुल सम्पन्न गर्न सामान्यतया २ वर्ष लाग्छ । पुलको लम्बाइ, भौगोलिक अवस्थिति, निर्माण सामग्रीको उपलब्धतालगायतका आधारमा निर्माण सम्पन्न हुने अवधि निश्चित हुने विभागका महानिर्देशक श्रेष्ठले बताए । छोटो दुरीको पुल १ वर्षमै निर्माण गर्न सकिन्छ भने लामो पुल निर्माण सम्पन्न गर्न ५ वर्षसम्म लाग्ने गर्छ ।
चालू आर्थिक वर्ष २०७४-७५ मा ३ सय ६६ वटा झोलुंगे पुल निर्माणाधीन रहेका विभागको स्थानीय सडक पुल शाखाकी इन्जिनियर स्मिता शर्माले जानकारी दिइन् । त्यस्तै, विस्तृत अयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेका ३ सय ९९ वटा पुल छन् । ‘यो वर्ष लगातारको चुनाव र आचारसंहितालगायतका कारण थप पुल निर्माण थालिएको छैन,’ उनले भनिन् । चालू वर्षको अन्तिमसम्ममा डिपिआर भइसकेका थप पुल निर्माणमा जाने उनको भनाइ छ ।
झोलुंगे पुल निर्माणका समस्या
डोलिडारका अनुसार अझै पनि झोलुंगे पुल निर्माणका लागि नेपालमा दक्ष जनशक्तिको अभाव छ । पुल डिजाइन गर्ने प्राविधिकदेखि निर्माणमा आवश्यक कामदारको समेत अभाव छ । विशेषगरी, पुललाई ‘फिट’ गर्ने फिटरदेखि लठ्ठा मिलाएर राख्न सक्ने विज्ञसम्मको अभाव रहेको सस्पेन्सन पुल डिभिजन, आयोजना प्रमुख गुरुप्रसाद शर्माले बताए ।
पुलको अभाव देखाउने स्थानीयले पनि योजना तयार गरेर ठेक्का लगाएपछि विभिन्न बहानामा अड्काउने गरेका छन् । पुल निर्माण हुने जग्गाको आफूखुसी चर्को मूल्य तोकेर वा अन्य माग राखेर अवरोध सिर्जना गर्ने गरेको डोलिडारका अधिकारीको भनाइ छ । त्यसबाहेक दुर्गम क्षेत्रमा पुल निर्माणका लागि आवश्यक सामग्री लैजान पनि ठूलो समस्या छ । यसले लागतसमेत बढाउने गरेको छ ।
पुलको किसिमअनुसारको लागत
सामान्यतया एउटा झोलुंगे पुल निर्माण गर्न औसतमा ६५ लाख रुपैयाँ लाग्छ । तर, पुलको लम्बाइ र किसिमअनुसार लागत फरक पर्ने इन्जिनियरहरूको भनाइ छ । झोलुंगे पुल निर्माणमा मुख्यतया २ प्रकार चल्तीमा छन् । पहिलो ‘सस्पेन्सन एन’ टाइप र ‘सस्पेन्डेड डी’ रहेका छन् । एन आकारको पुल निर्माण गर्न प्रतिमिटर औसतमा ७५ हजार रुपैयाँ लागत आवश्यक पर्छ । त्यस्तै, डी आकारको पुल निर्माणका लागि भने ३० देखि ४० हजार रुपैयाँ प्रतिमिटर लागत पर्ने सस्पेन्सन पुल डिभिजनको भनाइ छ । झोलुंगे पुल प्रक्रिया थालेपछि सामान्यतः सम्पन्न गर्न २ वर्ष लाग्छ । पहिलो वर्ष पूर्वसम्भाव्यता अध्ययनदेखि विस्तृत परियोजना प्रतिवेदनसम्म निर्माण गर्नमा खर्च हुने गरेको छ भने दोस्रो वर्ष निर्माण सम्पन्न गर्ने गरिन्छ ।
तराई क्षेत्रमा पुल निर्माण कठिन
झोलुंगे पुल निर्माण गर्न पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा गाह्रो हुन्छ । कडा चट्टानी क्षेत्रमा निर्माण गर्न सजिलो हुने तर तराईको माटे भूभागमा मुस्किल पर्ने गरेको छ ।
नेपालमा झोलुंगे पुल निर्माणको थालनी
नेपालमा झोलुंगे पुल निर्माणको परम्परा पुरानो भइसकेको छ । शताब्दीयौँदेखि स्थानीय समुदायहरू पैदलमार्गमा पर्ने घाट तथा जँघारहरूमा झोलुंगे पुलको निर्माण कार्यमा संलग्न रहँदै आएका छन् । २०औँ शताब्दीको प्रारम्भतिर सरकारीतवरबाट मुख्य व्यापारिक मार्गका महत्वपूर्ण स्थानहरूमा झोलुंगे पुल निर्माण गर्ने क्रम सुरु भयो । योजनाबद्ध ढंगले झोलुंगे पुल निर्माणको थालनी भने विसं २०२१ देखि मात्र भयो । प्रारम्भमा मुख्य पैदलमार्ग तथा रणनीतिक महत्वका घाट तथा जँघारहरूमा मात्र पुल निर्माण गर्नेतर्फ ध्यान केन्द्रित रह्यो । तर, स्थानीय पैदलमार्गमा पनि झोलुंगे पुल निर्माणको माग अत्यधिक रहेका कारण ती मार्गमा झोलुंगे पुल निर्माण गर्ने वैकल्पिक प्रविधि एवं कार्यान्वयन पद्धतिको विकास भयो । नदी र खोलाहरूको संख्या अत्यधिक भएकाले अझै पनि प्रशस्त झोलुंगे पुलहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । आवधिक योजनाहरूमा झोलुंगे पुल निर्माण कार्यलाई प्राथमिकता दिइँदै आएको छ ।
काम बढ्दै, बजेट घट्दै
चालू आवमा सरकारले झोलुंगे पुलका लागि कुल ३ अर्ब ३१ करोड २६ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो अघिल्लो (२०७३-७४) वर्षको तुलनामा ११ करोड रुपैयाँले कम हो । गत आवमा झोलुंगे पुल निर्माणका लागि ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । निर्माणबाहेक झोलुंगे पुलको पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्नसमेत उक्त बजेट खर्च गरिने विभागको योजना छ ।