झापाको दमकमा बुधबार बम फेला परेको छ । दमक–३ स्थित ढुकुरपानी माविको प्राङगण अगाडि फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।
बिहान ४ बजे फेला परेको बम कमल गाउँपालिकास्थित तोपगाछीमा रहेको २१ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको क्याप्टेन पुरबहादुर घलेले जानकारी दिए ।
ढुकुरपानीमा भेटिएको बम ‘क्यान बम’ रहेको र उक्त बमलाई इलेक्ट्रोनिक सर्किट र दुईवटा डेटोनेटरलाई छुवाएर डिस्पोज गरिएको सेनाले जनाएको छ ।
त्यसैगरी हिमालय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रको छेउमा भने शंकास्पद वस्तु मात्र फेला परेको प्रहरीले जनाएको छ ।
हिमालय माध्यमिक विद्यालयमा राति १०ः३० बजे शंकास्पद बस्तु भेटिएपछि बिहान ७ः१० मा नेपाली सेनाको टेली गएर निष्कृय पारेको थियो । ४ इन्च लम्बाई र गोलाईको आकारमा टेपले बाँधेको अवस्थामा भेटिएको उक्त वस्तु परीक्षण गर्दा ‘होक्स’ मात्र रहेको सेनाले जनाएको छ ।
त्यसैगरी सरस्वती माध्यमिक विद्यालयमा ३ इञ्च लम्बाई र १ इञ्च गोलाईको आकारमा भेटिएको उक्त वस्तु पनि ‘होक्स’ नै रहेको जनाइएको छ ।
चुनावअघि यसरी मतदान केन्द्रमै बम र शंकास्पद वस्तु भेटिएपछि सुरक्षा व्यवस्थालाई झन मजबुत बनाइने इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गिरीले जानकारी दिए ।