नरैनापुर (बाँके) : घरको छतमाथि राखिएको पुरानो सोलारतिर हेर्दै धम्बे खाँले भने, ‘यो सोलारको आयु पनि सकिएछ । अब नयाँ किनौं भने पनि धेरै नै महंगो पर्र्नेहोला । नकिनौं भने पनि साँझ अध्याँरोमै रात काट्नुपर्ने बाध्यता छ ।’
बाँकेको राप्तीपारी नरैनापुर ३ का खाँले बिजुलीको विकल्पमा जोहो गरिएको सोलारको पावर घट्दैै गएपछि पिरोलेको हो ।उनको परिवार वर्षौदेखि सोलारको भरमा घर उज्यालो बनाउँदै आएपनि अब पुरानो सोलारले भनेजत्ति पावर दिन नसकेपछि अँध्यारोमै बस्नुपर्ने चिन्ताले पिरोल्न थालेको हो ।स्थानीय भने अँझै अध्यारोमा बस्न बाध्य छन् । सदरमुकाम नेपालगन्जबाट ४२ किलोमिटर टाढा रहेको नरैनापुर क्षेत्रमा हालसम्म विद्युतको लाइन पुग्न सकेको छैन ।
‘छिमेकी भारतका सीमा क्षेत्र क्षेत्र साँझ पर्ने बित्तिकै उज्यालो देख्न पाइन्छ,’ खाँले भने, ‘तर हामी भने वर्षौदेखि अँध्यारोमै बस्दै आएका छौं । कहिलेसम्म अँध्यारोमा बस्ने ? ’ खाँले गाउँमा बिजुली कुर्दै बसेको करिव साढे दुई दशक भइसकेको छ । गाउँमा गाडिएका बिजुलीका पोलमा खिया लागेका छन् । सुगम जिल्लाको भारतसँग सीमा जोडिएको विकट बगौडा र नरैनापुर क्षेत्रलाई ‘बाँकेको कर्णाली’ को उपमा दिइएको छ । हालसम्म न त पक्की सडकको नै पहुँच पुगेको छ, न विजुली नै । पोल देखाउँदै नेताले बिजुली ल्याउने भनेर भोट मागिरहेका छन् । यो निर्वाचनमा पनि उम्मेदवारको एजेन्डा बिजुली ल्याउने नै छ । ‘हामी सधैं कर्णालीवासीभन्दा पनि दुर्गममा नै रहने भयौं,’ नरैनापुर २ का कमलेशप्रसाद पाठकले भने, ‘तराईको जिल्ला भएर पनि हाम्रो गाउँमा अहिलेसम्म न त बिजुली नै पुगेको छ न त राम्रो बाटो नै । भोट माग्छन् तर काम गर्दैनन् ।
यसपटक भने, जसले गाउँमा विद्युत ल्याउने पहल थाल्छ त्यसैलाई नै भोट दिने हो ।’ हुलाकी सडक खोलेदेखि नै कच्ची छ । वर्षायाममा बाढीले सडक बन्द हुन्छ । सडक र बत्तीको पहुँच नपुग्दा बगौडा र नरैनापुर क्षेत्रका नागरिकले आफ्नै देशमा शरणार्थीजस्तो जीवन बिताउनुपरेको गुनासो गरेका छन् । ‘हाम्रै सीमा पारीका गाउँमा साँझपर्ने बित्तिकै झिलिमिली हुन्छ,’ पण्डितपुरका सलारू नाउले भने, ‘तर सीमा वारी हाम्रो क्षेत्रमा भने, आंैसीको जस्तो अध्यारै रात काट्नु पर्छ । आफ्नै देशमा शरणार्थीजस्तो जीवन कहिलेसम्म बिताउने ? हाम्रो एउटै माग छ, विद्युत आपूर्ति ।’ नेतृत्व फेरियो, दैनिकी फेरिएन निर्वाचनमा मत माग्न सबै दल र उम्मेदवार बगौडा क्षेत्र पुगे ।
नेताले विकासे योजना लिएर आँगनमै आए पनि नागरिकले भने नेताका आश्वासन पत्याएनन् । विगतदेखि चार पटक नेतृत्व फेरिसकेका बगौडावासीले आफ्नो दैनिकी नफेरिएको देख्दा नेताका एजेन्डामाथि विश्वास नगरेका हुन् । ‘तपाइहरूकै जीवनस्तर उकास्छौं भनेर हात जोड्दै आँगनमै आए । हामीले पनि विश्वास मानेर मत दियौं’, ५५ वर्षीया बर्को पासवानले भनिन्, ‘चार-चार पटक नेताहरूलाई मत दिँदा पनि हाम्रो दैनिकीमा परिर्वतन हुन सकेन । यसपटक जसले सदरमुकामसँग जोड्छ र हाम्रो अँध्यारो बस्ती उज्यालो बनाउँछ, उसैलाई भोट दिने हो ।’ यो क्षेत्रमा बिजुली ल्याउने र सडक बनाउने उम्मेदवारले बाचा गर्न थालेको पनि तीन दशक भइसकेको छ ।
०५१ सालको प्रतिनिधिसभादेखि ०७० को संविधानसभासम्म बघौडाबासीले चार वटा निर्वाचनमा फरक पार्टीका जना चार उम्मेदवारलाई जिताए । ०५१ मा क्षेत्र नम्बर १ बाट राप्रपाका प्रेम भण्डारीले जितेका थिए । भण्डारीले बाचा गरे अनुसार बिजुलीका पोल पनि गाडे । तर, उनले बत्ति पुर्याएनन् । त्यही अवधिमा उनले सडकको काम पनि थाले चर पूरा भएन । ०५४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका ज्ञानु केसी विजयी भए । उनले पनि बाचा मात्र गरे । ०६४ को संविधानसभामा फोरम नेपालबाट मोहम्मद इस्तियाक राई विजयी भए ।
उनी यातायातमन्त्री पनि भए । तर उनले पनि सडक र बत्ती पुर्याउन सकेनन् । ०७० को संविधानसभामा एमालेका दिनेशप्रसाद यादव विजयी भए । उनी पनि राज्यमन्त्री बने । उनले पनि बाचा अनुसार काम गरेनन् । बघौडाबासी यसपटक पनि विगत झै नेतृत्व फर्ने दाउमा रहेको बताउँछन् । विजुली नहुँदा अहिले पनि राप्तीपारीका क्षेत्रमा रातीको समयमा टेलिफोनले काम गर्दैन। प्रदेश नम्बर पाँचका दुईवटा दुर्गम क्षेत्रमध्मे सुगम शहर नजिक रहेको सबैभन्दा दर्दनाक दुर्गम क्षेत्र भनेकै राप्ती सोनारी र नरैनापुर नै हो ।
नेपालसँग कागजी सम्बन्ध
राप्ती पारी क्षेत्रमा साविकका नौ वटा गाविस हाल राप्ती सोनारी र नरैनापुर गाउँपालिका विकासमा पछाडि परेका छन् । दुई वटै गाउँपालिकाका नागरिकसम्म विकासका पूर्वाधारहरूको पहुँच पुग्न नसकेपछि उनीहरूको नेपालसँग सम्बन्ध पनि त्यति गाढा देखिएको छैन । राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका अधिकांश नागरिकको नेपालसँग कागजी सम्बन्ध मात्रै रहेको छ । त्यहाँका नागरिकहरूको सबै सम्बन्ध भारतीय बजारसँग जोडिएको छ ।
नेपालतिर सडकको राम्रो पहुँच नहुँदा राप्तीपारीका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो । उनीहरूको नेपालमा कानुनी कागज बनाउनका लागि मात्रै आउने गर्दछन् । नागरिकता, लालपुर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् ।
सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोबार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिकसँग नेपालसँग सरकारी कागजपत्र बनाउन र मत हाल्ने बेला मात्र सम्बन्ध हुने गरेको छ ।