पोखरा : भागवत गीता जयन्तीको अवसरमा पोखरामा भक्तजनले सात सय एक भागवत पुस्तक तुलादान गरेका छन् । पुस्तक किनेर अध्ययन गर्न नसक्नेका लागि भागवत गीता उपलब्ध गराउने उद्देश्यले गीता जयन्तीको अवसरमा भक्तजनले पुस्तक तुलादान गरेका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको आयोजनामा पोखरामा भएको गीता जयन्ती महोत्सवमा सहभागी भक्तजनले आफ्नो तौलबराबरको भागवत गीताको पुस्तक जोखेर दान गरेका हुन् । हिन्दु धर्मको महत्वपूर्ण ग्रन्थ अध्ययन गरेपछि सबैले भागवत गीता अध्ययन गर्नुपर्ने आफूले महसुस गरेर पुस्तक तुलादान गरेको ५३ वर्षीय मीनबहादुर बास्तोलाले बताए । बास्तोलाकी श्रीमती धन बास्तोलाले पनि आफ्नो तौलबराबरको भागवत गीता तुलादान गरेकी थिइन्।
२५ वर्षीया सञ्जु देवकोटाले आफ्नो छोरीसँगै आफूबराबरको भागवत गीता जोखिएर तुलादना गरिन् । भागवत गीता सबैले अध्ययन गर्नैपर्ने पुस्तक भएकोले छोरीसँगै जोखिएर ९३ वटा पुस्तक दान गरेको उनले सुनाइन् । कार्यक्रममा तेजप्रसाद पोखरेल, सोनु गुरुङ गौतम, सन्दीप देव, राजेन्द्र पोखरेल र आरग्य बास्तोलाले पुस्तक तुलादान गरेका थिए ।
कार्यक्रममा आयोजक नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ पोखराका अध्यक्ष अमुजा कृष्णदासले एक महिनासम्म गीता जयन्ती मनाइने बताए । उक्त अवसरमा पुस्तक किनेर पढ्न नसक्नेलाई निःशुल्क वितरण पनि गरिने उनले बताए ।