566 views 7 secs 0 comments

भोट हाल्न घर फर्किंदै मुग्लानी

In देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १०:५५

धनगढी : रोजगारीका लागि मुग्लान पसेका स्थानीय मंसिर २१ गतेको चुनावमा मतदान गर्न घर फर्किरहेका छन्। मताधिकारको प्रयोग गरी विकास गर्ने नेतृत्व छान्न उद्देश्यसाथ उनीहरू घर फर्किएका हुन्। प्रदेश नम्बर ७ का पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा र डोटीमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते चुनाव हुन लागेको छ। चुनावका कारण सोमबार बेलुकी ५ बजेदेखि नेपाल र भारत दुवै देशका सीमा सिल गरिएका छन्।

नेपाली पक्षले मतदान गर्न आउने नेपालीलाई उनीहरूको परिचय खुलेमा चुनावको बिहानसम्म पनि आउन दिन भारतीय पक्षलाई आग्रह गरेको छ। ‘यसपालि विकास गर्ने र देशलाई समृद्धिको दिशामा डोर्‍याउने नेतालाई भोट दिने हो’, मुम्बईबाट फर्किरहेका धबल धानुकले भने, ‘भोट त अहिलेसम्म छाडेको छैन तर विकास निर्माणमा कसैले काम गर्न सकेका छैनन्।’

बिहीबार हुने मतदानका लागि भारतका विभिन्न सहरबाट फर्किनेको सीमा क्षेत्रमा लाम नै लागेको छ। ‘स्थानीय तहमा पनि भोट हाल्न १० हजार खर्च गरेर बम्बईबाट आएको थिएँ। के गर्ने मताधिकार प्रयोग त सबै सचेत नागरिकले गर्नै पर्‍यो’, धानुकले भने। धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा नाकामा भेटिएका अछामको साँफेबगरका शेखर भण्डारीले भने, ‘विकास र समृद्धिको आशा मरेको छैन।’

धबल मात्रै होइन, मंगलबार बिहानैदेखि मुग्लान पसेका धेरै नेपाली मतदानका लागि घर फर्किरहेको सीमा प्रहरी चौकी त्रिनगरले जनाएको छ। ‘छोराले फोन गरेर जसरी पनि भोट हाल्न आउनुपर्छ भन्यो त्यै भएर भोट हाल्न आएकी हुँ’, भारतको पलियामा काम गर्दै आएकी कञ्चनपुरकी लक्ष्मी खुनाले भनिन्। ‘६ वर्षदेखि सरदारको कृषि फर्ममा काम गर्छु। चुनावमा भोट हाल्नुपर्छ भनेपछि बिदा लिएर आएँ’, उनले भनिन्।

अब जित्ने नेताले नेपालमै यस्तो काम गर्न पाउने वातावरण बनाउनुपर्ने उनको माग छ। ‘हामी धेरै नेपाली महिला भारतीय किसानका उखु काट्न, आलु गोड्न, गाईवस्तु पाल्न र दूध दुहुने कामका लागि जानुपरेको छ’, लक्ष्मीले भनिन्, ‘यस्तो काम त नेपालमै हुनुपर्ने हो।’ यसपालि भेटिने नेतालाई म यही कुरा भन्छु।’
जिल्ला प्रशासन कार्यालयले भारतीय सुरक्षाकर्मीलाई सुरक्षाका हिसाबले सीमानाका सिल गरिए पनि मतदानका लागि आउने नेपालीलाई, नरोक्न अनुरोध गरिएको जनाएको छ। ‘हामीले भारतबाट मतदानका लागि आउने नेपालीलाई उनको परिचय, नागरिकताका आधारमा आउने दिन भारतीय समकक्षीलाई भनेका छौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘निर्वाचनमा कसैले पनि मताधिकारबाट वञ्चित हुनु नपरोस्।’

मुग्लानबाट मात्रै होइन, तराईबाट पहाडतिर जाने र राजधानीबाट पनि यस क्षेत्रमा फर्किने मतदाताको आवागमन तीव्र भएको छ। भारत मात्रै होइन, अन्य मुलुकबाट समेत मतदान गर्न घर फर्किर्नेको कमी छैन। अछामको जयगढ गाउँपालिकाका बलबहादुर साउदले मत हाल्न मलेसियाबाट फर्किएको बताए। मंगलबार धनगढी बसपार्कमा भेटिएका उनले भोट हाल्नकै लागि आएको बताए। ‘राम्रो व्यक्तिलाई भोट हाल्न आएको हुँ तर अहिलेसम्म हाम्रो भोटको कदर कुनै पनि नेताले गर्न सकेका छैनन्। अब जित्ने नेताले देश विकास गरोस्।’

मतदानका लागि फर्किनेहरूमा आशाका किरणसँगै अनुहारमा सम्भावनाको झलक देखिन्छ। ‘विकासै भएन भन्न त सकिँदैन तर जसरी नेताले इमानदारीसाथ लाग्नुपथ्र्यो त्यो हुन सकेको छैन’, काठमाडौंबाट डडेल्धुराको गन्यापधुरा फर्किंदै गरेको महेन्द्र विष्टले भने, ‘हामी पछिल्ला दुई दशकमा अधिकारका लागि लड्यौं, अब विकास र समृद्धिको युग सुरु हुनुपर्छ।’ उनले अहिले पार्टीभन्दा व्यक्तिलाई भोट दिन आग्रह गरे।

तराईबाट पहाड जाने मतदातालाई राजनीतिक दलले बस नै बुकिङ गरिदिएका छन्। ‘तीन÷चार दिनदेखि अछाम र डोटीका लागि दैनिक दुई÷चार बस बुकिङ भएर गइरहेका छन्’, धनगढी सुदूरपश्चिम यातायात व्यवसायी संघका कोषाध्यक्ष गोविन्दबहादुर शाहले भने।