विराटनगर: जहदा गाउँपालिकाको तारेगामाका गुलावचन साह भारतीयले दसगजा मिचेर बनाएको पक्की सडकका विषयमा सरकारले तड्कारो रूपमा कुरा उठाउन नसकेकोमा दुःख व्यक्त गर्छन् ।
‘नेपाल–भारत सीमा छुट्याउने दसगजा मिचेर भारतले सडक बनाएको छ । नेपाली भूमि मिचेर भारतीयको बस्ती नै बसाइएको छ’, उनी भन्छन्, ‘अहिलेसम्म सरकार मौन छ । स्थानीयको विरोधले मात्र भारतीय पक्ष टेर्नेवाला छैन ।’
नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा भारतले सडक बनाएको छ । त्यहीं नेपाली भूमि मिचेर भारतीय बस्ती पनि बसाइएको छ । सधैं भारतीयको हप्की र धम्की खेपेर बस्नुपरिरहेको उनी सुनाउँछन् ।
निर्वाचनका बेला नेताहरूले भारतीयको गलत कदमविरुद्ध कुरा उठाउने आवश्वासन दिने गरे पनि त्यसपछि त्यत्तिकै सेलाउने गरेको उनको गुनासो छ । भारतीयको दबदबाका कारण उनीहरूले गरेको ‘हर्कत’को विरोध गरे नेपाली नागरिक नै असुरक्षित हुनुपर्ने उनी बताउँछन् । उनका अनुसार दसगजा मिचेर सडकलगायत भौतिक संरचना निर्माण, नेपाली भूमि अतिक्रमण गर्ने, नेपाली भूमिलाई पनि आफ्नै जस्तो गरेर प्रयोगमा ल्याउने, नेपाली नागरिकमाथि कुटपिट गर्ने, भारतीय सुरक्षाकर्मीबाट दुव्र्यवहार खेप्नुपर्नेलगायत गतिविधि मुलुककै हितविपरीत छन् ।
‘नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्दै दुई देशबीचको सम्बन्ध राम्रो बनाउने पहल कूटनीतिक रूपमा हुनुपर्छ’, उनी भन्छन्, ‘सधंैभर हेपिएर बस्नुपर्ने नेपालीको समस्याको समाधान खोजिनुुपर्छ ।’
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने विराटनगर–१५, रानीका लक्ष्मण साहलाई भारतीय पक्षबाट सधंै असुरक्षित हुनुपरिरहेको पीडाले पिरोल्छ । वर्षौंदेखि नेपालीमाथि थिचोमिचो भइरहे पनि त्यसको खुलेर विरोध गर्न नसक्नु आफ्नो बाध्यता भएको उनी सुनाउँछन् । ‘भारतीयबाट नेपालको सीमा र सीमा क्षेत्रका बासिन्दा सधैं असुरक्षित छन् भन्ने यसअघिका विभिन्न घटनाले देखाइसकेका छन्’, उनी भन्छन्, ‘सीमा क्षेत्रका बासिन्दाले नेपाली नागरिक हौं भनेर अनुभूतिसम्म पनि गर्न पाइरहेका हुँदैनन् ।’
सीमा क्षेत्रका नागरिकको सुरक्षा गर्न सरकार चुक्दा यस्तो अवस्था आएको उनको गुनासो छ । ‘सरकार भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण हुँदा पनि रमिते भएर बसिरहेको हुन्छ’, उनी भन्छन्, ‘भूमिको संरक्षण नै गर्न नसक्ने सरकारले नागरिकको सुरक्षा गर्न सक्छ भन्नेमा विश्वास नै छैन ।’ निर्वाचन आउँदा मजबुत हुने सीमा सुरक्षा त्यसपछि फितलो हुनुको फाइदा भारतीयले उठाइरहेको उनको बुझाइ छ ।
निर्वाचनका बेलाजस्तै सधंैभर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारे नेपाली भूमि र नागरिकको सुरक्षामा भारतीय पक्षले खेल्न नपाउने तारेगामाका अशोक साहको बुझाइ छ । सीमा क्षेत्रमा हुने तस्करी, दुईनम्बरी धन्दा, अवैध धन्दा, सीमा अपराध पनि सुरक्षाका मुख्य चुनौैती रहने गरेको उनी बताउँछन् ।
‘खुला सिमानाको फाइदा उठाउँदै नेपाली भूमि अतिक्रमणदेखि लिएर भारतीयले नेपाललाई तस्करी र विभिन्न अपराध गर्ने थलोका रूपमा प्रयोग गरिरहेका हुन्छन्’, उनी भन्छन्, ‘त्यसको विरोध गर्दा हामी नै असुरक्षित हुनुपर्ने अवस्था आउँछ ।’
असुरक्षाका कारण भारतीयले गर्ने जुनसुकै हर्कतको पनि खुलेर विरोध गर्न सक्ने अवस्था नरहेको उनी सुनाउँछन् । ‘भारतीयले गर्ने थिचोमिचो र गलत हर्कतका बारेमा पटक–पटक सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइसक्यौं’, उनी भन्छन्, ‘सम्बन्धित पक्षले वास्ता नगरिदिँदा समस्या जटिल बनिरहेको छ ।’
सरकारले भारतीय पक्षसँग कुरा राख्न नसक्दा सीमा क्षेत्रका बासिन्दाले नेपाली नागरिक भएको अनुभूतिसम्म गर्न नपाएको विराटनगर–१५ का शेख फिरोजको गुनासो छ । दसगजा मिचेर बनाइएका संरचनाका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या रहेको उनी सुनाउँछन् ।
‘सरकारले कूटनीतिक मर्यादाविपरीत बनाइएका भौतिक संरचना हटाउन पहल गर्नुपर्छ । नभए सुरक्षा दिए हामी नै हटाउछौं’, उनी भन्छन्, ‘नेपाली भूमि र नेपाली नागरिकको सुरक्षा कसरी गर्नुपर्छ भन्ने हामीलाई राम्ररी थाहा छ ।’
निर्वाचनपछि बन्ने सरकारले कूटनीतिक पहल गरी भारतीयको हेपाहा प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको मुख्य माग छ । भन्छन्, ‘सीमा क्षेत्रका नेपाली निक्कै असुरक्षित छन् । अब बन्ने सरकारले ढुक्कसँग सुरक्षितसाथ बस्ने वातावरण निर्माण गर्नुपर्छ ।’
निर्वाचनका बेला सीमा क्षेत्रमा नेताहरू भोट माग्न आए पनि समस्या हल गर्ने विषयमा उनीहरूसँग कुनै ठोस योजना नपाएको उनको भनाइ छ । ‘नेताले निर्वाचनका बेला सीमा क्षेत्रका नागरिकलाई प्रयोग मात्रै गरिरहे’, उनी भन्छन्, ‘तर, यहाँका पीडाले उनीहरूलाई कहिल्यै छोएन ।’
होटेल र पसल साँझ नपरीकन बन्द गर्नुपर्ने अवस्था रहेको रानीका व्यवसायी अम्बरबहादुर श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘निर्धक्कसँग हिँडडुल गर्ने अनि व्यापार÷व्यवसाय सञ्चालन गर्ने अवस्था पनि छैन ।’ उनका अनुसार सीमा क्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मी नै पनि भारतीयका कारण असुरक्षित छन् ।
‘२०७२ सालमा भएको मधेस आन्दोलनका बेला इलाका प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरीक्षक प्रदीप गिरीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अपहरण गरे’, उनी भन्छन्, ‘नेपाली सुरक्षाकर्मी नै असुरक्षित रहेको अवस्थामा नागरिक कसरी सुरक्षित हुन सक्छन् ? ‘
दलहरूले घोषणापत्रमा सीमा क्षेत्रवासीको समस्याबारे कुनै कुरा उल्लेख नगरेको गुनासो मतदाताको छ । ‘सीमा क्षेत्रका समस्यालाई दलले आफ्ना घोषणापत्रमा प्राथमिकता दिएर उल्लेख पनि गरेका छैनन्’, उनी भन्छन्, ‘केहीले उल्लेख गरे पनि जुन स्तरको समस्या हो त्यसलाई सम्बोधन गर्ने खालका छैनन् ।’
विराटनगर–१५ का वडाध्यक्ष अस्लाम आलमले नेपाली जनता धेरै सचेत भइसकेको बताए । ‘भारतीयको थिचोमिचो सधैं सहनुपर्छ भन्ने छैन भन्ने जनताले बुझिसकेका छन्’, उनले भने, ‘अबका दिनमा सीमा क्षेत्रका बासिन्दाले भयरहित वातावरणमा जीवनयापन गर्न पाउनुपर्ने कुरालाई तड्कारो रूपमा उठाइनेछ ।’
सीमा सुनसान
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन तीन दिन बाँकी रहँदा नेपाल–भारत सीमा क्षेत्र सुनसान बन्न थालेका छन् । विराटनगरको जोगवनी नाकामा चहलपहलमा कमी आएको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ जाने–आउनेको संख्या घटेको छ ।
प्रायः नेपाली ग्राहक दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामान किनमेलका लागि जाने गरेको भारतको जोगवनी बजार सुनसान बनेको हो । नेपालीका कारण चहलपहल बढी हुने गरे पनि अहिले सुनासनजस्तै बनेको जोगवनीका व्यापारी प्रमोद साहले बताए । ‘किनमेलका लागि आउने नेपाली ग्राहकका कारण जोगवनी सधैं गुलजार हुने गरेको थियो’, उनले भने, ‘निर्वाचनका कारण थोरै संख्यामा मात्र आउन थालेपछि जोगवनी सुनसान बन्न पुगेको छ ।’
सुरक्षा अधिकारीका अनुसार नेपाल र भारतका सबै सीमा क्षेत्रमा मानिस र सवारी साधन आवतजावतमा कमी आएको छ । स्थानीय प्रशासले निर्वाचनलाई लक्ष्य गरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार निर्वाचनका लागि तीन तरिकाको सुरक्षा व्यवस्था मिलाइएको छ ।
नेपालतर्फ सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीले शंकाष्पद ठाउँ पहिचान गर्दै ‘सरप्राइज’ चेकिङ जारी राखेको उनले बताए । नाका र शंकास्पद ठाउँमा तालिमप्राप्त कुकुरबाट गस्ती पनि बढाइएको छ । ‘नियमित चेकिङ भइरहेको छ । त्यसबाहेक सुरक्षाकर्मीको संयुक्त टोलीले चेकजाँच बढाएको छ’, उनले भने, ‘विशेषगरी निर्वाचनविरोधी गतिविधि हुन सक्ने सीमा क्षेत्रका शंकास्पद ठाउँलाई नियन्त्रणमा लिई अप्रेसन सञ्चालन गरिएको छ । सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।’
निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । प्रजिअ आचार्यले शंकास्पद गतिविधि, हतियार ओसारपसार एवं निर्वाचनविरोधी कार्य अनि त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिने अधिकार दिएर सुरक्षाकर्मी परिचालन गरेको बताए । उनका अनुसार एक सातादेखि सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त ‘पेट्रोलिङ’ चलिरहेको छ । भारतीय भूमिमा पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको उनले बताए ।
सुरक्षाकर्मीको टोलीले मतदान केन्द्र, मतदानस्थल, मतदाता र उम्मेदवारको सुरक्षामा ध्यान दिन थालेको छ । उम्मेदवारको घर, सवारी साधन, उम्मेदवार स्वयं र कार्यक्रमलाई केन्द्रित गरी सुरक्षा व्यवस्था पनि मिलाइएको छ । सुरक्षाकर्मीले उम्मेदवारका कार्यक्रम हुने स्थलबारे अघिल्लै दिन जानकारी लिएर त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने गरेको उनले जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमावर्तीलगायत क्षेत्रमा हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि थप कडा गर्न थालिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले बताए । उनका अनुसार भारतसँगको खुला सिमानाले निर्वाचनमा पार्ने प्रभाव मूल्यांकन गरी सबै सुरक्षा निकाय एवं भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर चेकजाँच बढाइएको हो । भारतबाट हुने गरेका साना हातहतियार ओसारपसार, निर्वाचन भाँड्न खोज्ने समूहका गतिविधि, सीमा क्षेत्रमा हुने अपराध निर्वाचन सुरक्षाका चुनौती रहेका कारण त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।