मंसिर १८, २०७४-बेनेभेन्टोका गोलरक्षक अल्बर्टो ब्रिनोलीले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि इटालियन सिरी ‘ए’ मा एसी मिलान २–२ को बराबरीमा रोकिएको छ । मिलानका नवनियुक्त प्रशिक्षक जेनारो गाटुसोको पहिलो खेलमा बराबरीसँगै बेनेभेन्टो सिरी ‘ए’ मा पहिलो अंक जोड्न सफल रह्यो । ब्रिनोलीले मैदानको बायाँ भागबाट प्रहार गरिएको फ्रिकिकलाई ६ यार्ड बक्सछेउबाट डाइभिङ हेडरमार्फत गोल गरेका थिए ।
जियाकोमो बोनाभेन्चुराको गोलमा मिलानले ३८ औं मिनेटमा अग्रता लिएको थियो । जर्ज पुस्कासले दोस्रो हाफको सुरुआतमै बराबरी गोल फर्काए पनि निकोला कलिनिचले सात मिनेटपछि मिलानलाई पुन: अगाडि बढाए । खेलको १५ मिनेट बाँकी हुँदा मिलानका एलेसियो रोमाग्नोली दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए । लिगमा लगातार १५ औं हारको नजिक पुगेको बेनेभेन्टोका लागि गोलरक्षक ब्रिनोलीले गोल गर्दै घरेलु समर्थकलाई खुसी दिलाए ।
http://kantipur.ekantipur.com/news/2017-12-04/20171204073431.html