‘डे हेया विश्वकै उत्कृष्ट’

In खेलकुद
१८ मंसिर २०७४, सोमबार १२:५२

मंसिर १८, २०७४-म्यानचेस्टर युनाटेडका प्रशिक्षक जोसे मोउरिन्होले गोलरक्षक डेविड डे हेयाले आर्सनलविरुद्ध गरेको विश्वस्तरीय प्रदर्शनको प्रशंसा गरेका छन् । युनाइटेडले शनिबार इङलिस प्रिमियर लिगअन्तर्गत आर्सनललाई ३–१ ले पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुरुआतमै एन्टोनियो भ्यालेन्सिया र जेसी लिङ्गार्डको गोलमा अग्रता लिए पनि युनाइटेडले जित दर्ता गर्न धेरै कसरत गर्नुपर्‍यो ।

खेलको ११ औं मिनेटमा २–० को अग्रता लिएको पाहुना टोली युनाइटेडका लागि गोलरक्षक डे हेया नायक रहे । उनको उत्कृष्ट प्रदर्शनका बावजुत पहिलो हाफको चार मिनेट बाँकी रहँदा आर्सनलले १ गोल फर्कायो । उसका लागि एल्क्जेन्डर लाकाजेटले गोल फर्काए ।

खेलको ६३ औं मिनेटमा लिङ्गार्डले गोल थपेपछि युनाइटेडले पुन: २ गोलको अग्रता बनायो । त्यसपछि पल पोग्बाले हेक्टर बेल्लेरिनलाई डरलाग्दो फल हानेपछि रेफ्रीले रातो कार्ड देखाए । १० खेलाडीमा सीमित युनाइटेडले जित हात पार्नुमा डे हेयाको प्रदर्शन मुख्य रहेको मोउरिन्होले बताए ।

‘मैले खेलपछि उनलाई आजको प्रदर्शन गोलरक्षकले गरेको विश्वकै उत्कृष्ट रहेको बताए । मैले अहिलेसम्म गोलरक्षकबाट यस्तो प्रदर्शन देखेको थिइनँ । टोलीलाई चाहिएको अवस्थामा गोलरक्षकको यस्तो प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ । सबै खेलाडीको प्रयास राम्रो थियो,’ मोउरिन्होले भने । पोग्बाको रातो कार्डबारे बोल्दै उनले आर्सनलका लौरेन्ट कोसिएल्नी पनि रोमेलु लुकाकुलाई फल हानेपछि कार्ड नपाउँदा भाग्यमानी रहेको बताए । यद्यपि उनले युनाइटेडको राम्रो प्रदर्शनबारे खुलेर बोले । ‘मेरो टोलीले खेलेको देख्दा मलाई एकदम खुसी लागेको छ । आर्सनलले केही समय राम्रो फुटबल खेलेर हामीलाई तनाव दियो । तर हाम्रा खेलाडीले निकै राम्रो खेले र पूरै तीन अंकको हकदार छन्,’ उनले थपे ।

पराजित टोलीका प्रशिक्षक आर्सेन वेङगरले खराब सुरुआत गर्नु टोलीको हारको मुख्य कारण रहेको बताए । ‘हामीले सुरुआतमा निकै खराब डिफेन्डिङ गर्‍यांै । २–० ले पछि पर्दा पनि टोलीले पुनरागमन गर्ने बाटो बनायो । तर अन्तिम निर्णय लिन चुक्दा हामीले हारको सामना गर्नुपर्‍यो,’ उनले थपे, ‘हामीले थप गोल गर्न नसक्नुमा डे हेया मुख्य बाधक रहे । उनले उत्कृष्ट प्रदर्शन गरे ।’

लिभरपुलको सानदार जित

प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले ब्राइटनलाई ५–१ ले पराजित गर्‍यो । उसको जितमा रोबर्टो फिर्मिनोले दुई तथा एम्रे च्यान र फिलिपे कोउटिन्होले १–१ गोल गरे । अर्को गोल लेविस डंकको आत्मघाती रह्यो । एभरटनले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा हडर्सफिल्डलाई २–० ले पराजित गर्‍यो । गिल्फी सिगुर्डसन र डोमिनिक काल्भर्ट–लेविनले दोस्रो हाफमा गोल गरेपछि नवनियुक्त प्रशिक्षक साम अलार्डाइसले सुखद सुरुआत गरे । ह्युङ मिन सनले बराबरी गोल फर्काएपछि टोटेनहम हट्सपरले वाटफोर्डसँग १–१ को बराबरी खेल्दै हारबाट जोगियो । वाटफोर्डले काबासेलेको गोलबाट अग्रता लिएको थियो । अन्य खेलमा लेस्टरले बर्नलीलाई १–० र स्टोक सिटीले स्वान्सीलाई २–१ ले हराए । वेस्ट–ब्रुम र क्रिस्टल प्यालेसको खेलमा कुनै गोल भएन ।

रियल बराबरीमा

म्याड्रिड– स्पेनिस लिगअन्तर्गत गए राति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । एथलेटिक बिल्बाओको घरेलु मैदानमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको अन्त्यतिर कप्तान सर्जियो रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–१ ले पराजित गर्‍यो । विलियम जोसेको गोलमा पछाडि परेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल फर्कायो । उसका लागि फिलिप लुइस र एन्टोइन ग्रिजमनले गोल गरे ।

http://kantipur.ekantipur.com/news/2017-12-04/20171204073352.html