548 views 4 secs 0 comments

चुनावी अभियान सञ्चालन गर्न अर्को जिल्ला

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:४३

मंसिर १८, २०७४-पहिलो चरणको चुनाव सकिएका जिल्लाका नेताहरू दोस्रो चरणको चुनावका लागि प्रचारप्रसारमा खटिएका छन् । पार्टीको निर्देशनबमोजिम भन्दै उनीहरू पूर्वका जिल्ला र राजधानीसम्म प्रचारमा जुटेका हुन् ।

कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदार बनेका रामहरि खतिवडा अहिले उदयपुरको चुनावी प्रचारमा व्यस्त छन् । उदयपुरका कांग्रेसलाई जिताउन आफूलाई पार्टीले जिताएको उनको भनाइ छ । आफ्नो जित सुनिश्चित भइसकेपछि अर्को जिल्लाका उम्मेदारलाई सहयोग गर्न उनी उदयपुर पुगेको बताउँछन् । उदयपुरमा प्रतिनिधिसभाका उम्मेदवारद्वय नारायणबहादुर कार्की र नारायण खड्काको चुनावी सभामा उनी सहभागी बनेका छन् ।

वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरू पनि अधिकांश आफूनिकट नेताहरूको चुनावी प्रचारका लागि राजधानी पुगेका छन् । गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवार पनि राजधानीमै छन् । जिल्लाको मतदान सकिएपछि मतदातालाई धन्यवाद दिन गाउँगाउँ घुम्तै उतैबाट उनी राजधानी हानिएका हुन् । उनले पार्टीका भ्रातृ संस्थाका युवाहरूलाई माधवकुमार नेपालको चुनावी क्षेत्रमा प्रचार सहयोगमा खटाएका छन् ।

संघीय समाजवादी फोरमले पनि आफ्ना नेता जिताउने भन्दै पहिलो चरणको मतदान सकिएको पर्सिपल्टै दुई दर्जनको टोली लिएर तराईतिर लागेको छ । सुरुमा सप्तरीमा उपेन्द्र यादवको चुनावी प्रचारमा खटिएका उनीहरू अहिले अशोक राईको प्रचारका लागि सुनसरी पुगेका छ्न । उनीहरू चुनावी प्रचारका लागि झापासम्म खटिएको प्रदेशसभाका लागि उम्मेदार बनेका नेत्रबहादुर नेम्वाङ बताउँछन् । पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार जुद्ध ढाक्रेको नेतृत्वमा उनीहरू त्यहाँ पुगेका हुन् ।

मतपेटिकाहरू भने जिससमा राखिएको छ । मतपेटिका सुरक्षाका लागि सुरक्षाकर्मीहरू खटिएका छन् । राजनीतिक दलहरूले आ–आफ्नोतर्फबाट ताला लगाएका छन् । वाम गठबन्धन र कांग्रेस उम्मेदार जित आफ्नो निश्चित भएको दाबी गर्दै आएका छन् ।

कांग्रेसका खतिवडा १५ सयभन्दा बढी मतले जित सुनिश्चित भएको बताउँछन् । वाम गठबन्धनका यज्ञराज सुनुवार भने ३५ सय बढी मतले जित सुनिश्चित भएको दाबी गर्छन् । २१ गते साँझ ५ बजेदेखि मतगणना सुरु हुने मूख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मतदान सकिए पनि जिल्लामा प्रचारका लागि टाँगिएका तुल, ब्यानर र पर्चा पम्प्लेट अझै हटाइएको छैन । मौनअवधिमै आयोगले हटाउन लगाउनुपर्ने भए पनि आचारसंहिताविपरीत टाँगिएका पर्चाले सदरमुकाम र आसपासका बजार कुरूप बनेका छन् । दलहरूले भने गणना सकिएपछि मात्र हटाउने जनाएका छन् ।

उदयपुरको क्षेत्र २ मा कांग्रेसको निर्वाचन कार्यक्रमको नेतृत्व ओखलढुंगाबाट आएका खतिवडाले लिएका छन् । गत बुधबार यो क्षेत्रको प्रतिनिधिसभाका उमेदवार नारायणबहादुर कार्की विस्फोटमा परी सख्त घाइते भएपछि खतिवडाले चुनावी कार्यक्रमको नेतृत्व लिएका हुन् ।

काग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा खतिवडा उदयपुरको चुनावी कार्यक्रमको नेतृत्व लिन आएका हुन् । उनी भने ओखलढुागाबाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-04/20171204075227.html