457 views 0 secs 0 comments

इलाम कारागारका कैदीबन्दी एकैपटक १५७ जना बिरामी…

In देश, समाज
६ आश्विन २०७६, सोमबार ११:५४

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।
कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।’
कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । ‘शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर १ सय ५७ पुगेको छ’, श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।’
कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउँछन् ।