मंसिर १८, २०७४-इटहरी उपमहानगरपालिका मेयरमा पराजित कांग्रेस नेता रोहित प्रसाईंका शब्दमा विजय गच्छदार र निर्वाचन एकअर्काका पर्याय हुन् । २०४८ देखिका निर्वाचनमा अपराजित यात्राको इतिहास बोक्ने थोरै नेतामध्ये उनी पर्छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँगै गच्छदारको इतिहास अपराजित छ । बिजुक्छेले यस पटकदेखि निर्वाचनको यात्राबाट विश्राम लिए । तर, देउवा, पौडेल र गच्छदार चुनावी प्रतिस्पर्धामा छन् ।‘२६ वर्षअघि भोट माग्न आउँदा सुनसरीको केन्द्र इटहरी एउटा सानो गाउँजस्तो थियो । घर थोरै थिए, अग्ला थिएनन्, अहिले यही सहर घनाबस्ती मात्रै छैन । ७४ वटै जिल्लाका विभिन्न पेसा र व्यवसायमा आबद्ध मान्छे बस्ने आधुनिक सहरमा परिणत भएको छ,’ शनिबार इटहरी चोकमा आयोजित सभामा गच्छदारले सहरको रूपरंग परिवर्तन गर्नेमा आफ्नै देन भएको बताउँदै भने, ‘यो सहरलाई उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने काम मात्रै मैले गरिनँ, मेरै देनले पूर्वको यो केन्द्रको मुहार फेरिएको हो ।’
उनले यसो भनिरहँदा इटहरीबाट दक्षिण १२ किमि दूरीको दुहबीमा सोही दिन आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी एमाले उम्मेदवार भगवती चौधरीले घाँटी बसेको स्वरमा व्यंग्य गर्दै भनिन्, ‘दुई सय घान धूलो खाएर विजय गच्छदारले गरेको विकासको बाटोमा हिँडेर आएको छु । यही धूलोले मेरो घाँटी सुकेर बोल्नसम्म दिएको छैन ।’
चौधरीले गच्छदारलाई भारतको विहारका नेता लालुप्रसाद यादव र उत्तरप्रदेशका मुलायम सिंहसँग तुलना गरिन् । ‘कुनै बेला लालु र मुलायम सिंहले जरा गाडेर बसेका थिए । कसैले फाल्न सक्दैनन् भन्दै थिए,’ गच्छदारले २६ वर्ष सुनसरीमा त्यसैगरी जरा गाडेको बताउँदै उनले भनिन्, ‘जसरी लालु र मुलायम सिंह पराजित भएर त्यहाँ विकासको गति अघि बढेको छ । अब सुनसरीमा त्यस्तै दिन आउनेछ ।’
चौधरीले गच्छदारको अपराजित यात्रा यस पटक टुंग्याएरै छाड्ने उद्घोष गरिरहँदा इटहरीमा भेटिएका गच्छदार भने निकै तनावमा थिए । चुनावबारे कान्तिपुरले कुरा गर्न खोज्दासमेत उनी मानेनन् । कार्यक्रम धेरै छ भन्दै उनी त्यहाँबाट पसिना पुछ्दै निस्किए । शनिबार मात्रै उनले चारवटा सभालाई सम्बोधन गरेका थिए ।
एमाले उम्मेदवार चौधरीको गच्छदारसँगको यो प्रतिस्पर्धा दोस्रो हो । ०७० को चुनावमा चौधरी ३ सय ६२ मतान्तरमा पराजित भएकी थिइन् । ‘२६ वर्षअघि इटहरी बजार र दुहबी उस्तै थिए, आज इटहरी आधुनिक सहर भएको छ तर दुहबी किन भर्खरै नगरपालिका बन्यो ? २६ वर्ष सत्तामा रहेका गच्छदारले के गरे यो क्षेत्रका लागि ? चौधरीले भनिन्, ‘पटक–पटक कोल्टे फेरे । जति कोल्टे फेरे पनि सुनसरीबाट जित्दै गए । तर, अहिले कुनै पनि हालतमा जित्न सक्दैनन् ।’
गच्छदार ०४८ सालदेखिका चुनाव मात्रै जितेनन्, सत्ताको केन्द्रविन्दुमा जहिल्यै रहे । ०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई प्रभावशाली मन्त्रीका रूपमा रहे । त्यतिबेला कोइरालाको किचन क्याबिनेटका रूपमा एकेजीवी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार) नामले उनी चर्चामा थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिर भएनन् ।
०६४ को संविधानसभा निर्वाचनअघि आफ्ना केही मान्छेले टिकट नपाएकोमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडे । उपेन्द्र यादव नेतृत्वको संघीय फोरममा प्रवेश गरी ०६४ को संविधानसभा चुनाव जिते । माओवादी नेतृत्वको सरकार सात महिनामा ढलेपछि उनले उपेन्द्र यादवको पार्टी विभाजित गरेर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरे र माधव नेपाल नेतृत्वको सरकारमा उनी प्रवेश गरे ।
सत्ताका विभिन्न घुम्ती पार गर्दै उम्मेदवार मनोनयन गर्नुअघि गच्छदार कांग्रेस प्रवेश गरेका हुन् । पार्टी छाडेर दस वर्ष बाहिर बस्दा पनि आफूले कांग्रेसको अहित हुने काम कहिल्यै नगरेको भन्दै उनले पूर्वबाट कांग्रेसको नेतृत्व आफैंले गर्ने संकेत गरे ।
उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक उनी सत्तामा पुगेका छन् । मतदातामाझ अब प्रधानमन्त्री हुने भन्दै उनले मत मागिरहेका छन् । एउटा थारूको छोरालाई प्रधानमन्त्री बनाउनुहोस् भन्दै मत मागिरहेका बेला उनका प्रतिस्पर्धी चौधरीले भने सत्ताको लोभ आफूलाई नरहेको बताइन् । ‘मलाई राज्यसत्ताको भत्ता र सुविधा चाहिँदैन । मन्त्री पनि चाहिँदैन तर तपाईंहरूले जिताउनुभयो भने यो क्षेत्रको विकासका लागि डटेर लड्छु,’ उनले भनिन् । तर, दुहबीकै कार्यक्रममा उपस्थित एमाले अध्यक्ष केपी ओलीले भने चौधरीलाई नेपालकी छोरीको उपमा दिँदै चुनाव जितेपछि मन्त्री बनाउने आफ्नो जिम्मा भएको बताए ।
०७० सालमा चुनाव लड्दा गच्छदार लोकतान्त्रिक फोरममा थिए । अहिले कांग्रेस प्रवेश गरेपछि उनको विजय सहज भएको कांग्रेसका स्थानीय नेता रोहित प्रसार्इं बताउँछन् । ‘त्यसमा पनि सुनसरीमा भएका विकास गच्छदारकै देन हुन्,’ उनले थपे, ‘सुनसरी–मोरङ पुल आयोजना स्थापना गरेर एकै वर्षमा २२ वटा पुलको शिलान्यास गरेको इतिहास छ ।’ तीमध्ये अधिकांश पुल सम्पन्न भइसकेका छन् ।
स्थानीय चुनावको अंक गणितमा पनि कांग्रेस र फोरमको मत वाम गठबन्धनको भन्दा १२ हजार बढी छ । ‘इटहरी त एमालेको गढ नै थियो, अहिले धेरै सुधार भएको हो,’ उनले भने, ‘कांग्रेस र फोरम लोकतान्त्रिक मिलिसकेपछि गच्छदारको विजयलाई कसैले रोक्न सक्दैन ।’ भगवती ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भइन् । एक पटक राज्यमन्त्रीसमेत भएकी उनी स्थानीय तहमा महिलाका माझ लोकप्रिय छिन् ।
उनले स्थापना गरेको फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघु वित्तीय संस्थामार्फत जिल्लामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
http://kantipur.ekantipur.com/news/2017-12-04/20171204070332.html