मंसिर १७, २०७४-वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा नोभेम्बर महिनामा सर्वाधिक ४० वटा कन्टेनरबाहक रेल्वे र्याक भारतको विभिन्न बन्दरगाहबाट आइपुगेको छ । सन् २००४ देखि सञ्चालनमा आएको यो बन्दरगाहको इतिहासमा एक महिनामै यति धेरै रेल्वे र्याक आएको यो पहिलोपटक हो ।
सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार, यसअघि सन् २०१६ को अगस्त महिनामा यो बन्दरगाहमा ३८ कन्टेनरबाहक रेल्वे र्याक कोलकाता बन्दरगाहबाट यहाँ आइपुगेको थियो । हाल आएको ४० रेल्वे र्याकमध्ये २५ वटा कोलकाता बन्दरगाहबाट सोझै, एक दर्जन कोलकाता बन्दरगाहस्थित भारतीय रेल्वेको भगिनी संस्था कोंकरको माजरहार्ट टर्मिनलबाट र ३ भारतकै अर्को बन्दरगाह विशाखापटनमबाट आएको हो ।
नेपाली आयातकर्ताले विभिन्न तेस्रो मुलुकबाट आयात गरेको मालवस्तु बोकेर आएका कन्टेनरलाई कोलकाता र विशाखापटनम बन्दरगाहबाट भारतीय रेल्वेको र्याकले वीरगन्जसम्म ल्याएको हो । सामान्यतया एक र्याकले यस्तो ९० वटा कन्टेनर बोक्छन् ।
टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले पछिल्लो समय कोलकाता बन्दरगाहको जामको प्रतिकूलताको अवस्थामा पनि कोंकरसँग समन्वय गरी कोलकातादेखि वीरगन्जका लागि १६ वटा ‘डेडिकेटेट’ रेल्वे र्याक माग गर्न सफल भएपछि एक महिनामै यति धेरै रेल्वे र्याक ल्याउन सम्भव भएको बताए ।
‘यसबाहेक हामीले नेपाली आयातकर्तालाई कोलकाता बन्दरगाहस्थित कोंकरको अर्को टर्मिनल प्रयोग गर्न लामो समयदेखि आग्रह गर्दै आएकोमा दसैंयता उहाँहरूले पनि हाम्रो आग्रह मानिदिनुभयो,’ चौधरी भन्छन्, ‘यसले गर्दा लामो समय कोलकाता बन्दरगाहको जाममा बस्नु परेन, सहजै रेल्वे र्याक पाएर उहाँहरूले आफ्नो कन्टेनर वीरगन्जसम्म ल्याउन पाउनुभयो, नोभेम्बर महिनामा मात्रै एक दर्जन रेल्वे र्याक त्यसै टर्मिनलबाट वीरगन्जका लागि आउन सफल भयो ।’
यसै कारण २ साताअघिसम्म पनि कोलकाता बन्दरगाहमा वीरगन्ज आउने १ हजार ३ सयभन्दा बढी कन्टेनर अड्किएकोमा बिहीबार त्यो संख्या घटेर ३ सय ५० मा झरेको चौधरीले दाबी गरे । माजरहार्ट
टर्मिनल हालको कोलकाता बन्दरगाहको टर्मिनलबाट केलल २ किमिको मात्र दूरीमा रहेको उनले जानकारी दिए ।
यसबाहेक भदौ पहिलो साताको बाढीले अवरुद्ध रहेको भारतीय रेल्वेको रक्सौल सीतामढी रेल्वे ट्रयाक खण्ड नाभेम्बर २५ देखि सुचारु भएपछि त्यसको फाइदा पनि सिर्सिया सुक्खा बन्दरगाहलाई भएको उनले दाबी गरे । ‘भदौ पहिलो साता यता रक्सौल–सुगौली रेल्वे ट्रयाक खण्ड मात्र सञ्चालनमा थियो, अहिले २ वटा ट्रयाक सञ्चालनमा आएपछि त्यसले रेल्वे र्याकको आगमन बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘यो आयातकर्तादेखि टर्मिनल्सलगायत सरोकारवाला सम्पूर्णको सामूहिक भावनाको कारण सम्भव भएको हो ।’
हालको रेल्वे र्याक आवागमनको दर हेर्दा प्रतिसाता ७ सय ५७ वटा कन्टेनर, मासिक ३ हजार २९ कन्टेनर र मासिक ३४ को हाराहारीमा कन्टेनरबाहक रेल्वे र्याकको आवागमन सुक्खा बन्दरगाहमा हुन थालेको छ । यति ठूलो सफलता मिलिसकेपछि आफूहरू योभन्दा कम नभई मासिक रूपमा योभन्दा बढी रेल्वे र्याक भित्र्याउने प्रयासमा रहेको चौधरी दाबी गर्छन् । ‘४० वटा र्याक एक महिनामा भित्रिसकेपछि अब हामी त्योभन्दा कम नभई बढी र्याक भित्र्याउने प्रयासमा लागिपरेका छौं,’ उनले भने, ‘अब मासिक ४५ देखि ५० वटासम्म र्याक सुक्खा बन्दरगाह भित्र्याउने हाम्रो लक्ष्य छ ।’ पछिल्लो समय नेपालको आयात निर्यात कारोबार बढेकाले पनि यो सम्भव रहेको उनले बताए ।
ठूलो सम्भावना र क्षमता भए पनि सुक्खा बन्दरगाह हालसम्म पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको गुनासो सरोकारवालाहरूको रहँदै आएको छ । यो रेल्वे सुविधा भएको मुलुककै पहिलो र एक मात्र सुक्खा बन्दरगाह हो । भारतको कोलकाता बन्दरगाहसँग सोझो रेल्वे सन्जाल जोडिएको यो बन्दरगाह हुँदै भारतका अन्य राज्यबाट पनि मालवस्तु आयात गरिन्छ । यसै वर्षदेखि विशाखापटनम बन्दरगाहबाट पनि कन्टेनर यहाँ आउन थालेका छन् ।
दैनिक १ हजार ५ सय कन्टेनरको लोड–अनलोड क्षमता भएको यो बन्दरगाहमा हाल वार्षिक ३० देखि ३५ हजार मात्र कन्टेनर लोड अनलोड भइरहेका छन् । नेपालमा तेस्रो मुलुकबाट आउने वार्षिक ७० हजार कन्टेनर यो बन्दरगाह एक्लैले लोड–अनलोड गर्ने क्षमता राख्छ । विश्व बैंकको ८ सय २ मिलियन डलर ऋण सहयोगमा यो बन्दरगाह निर्माण गरिएको थियो ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योगले यसै बन्दरगाहबाट तेस्रो मुलुक तथा भारतबाट मालवस्तु आयात गर्छन् । यो बन्दरगाहबाट भारत, चीनका साथै फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड, इटली, अमेरिका, जर्मनीलगायतका तेस्रो मुलुकहरूबाट समेत मालसामान आयात हुने गरेको छ । विदेशी मदिरा, फर्निचर, विद्युतीय उपकरण, प्लास्टिकको दाना, फलाम, एमएस बिलेटलगायतका औद्योगिक कच्चा पदार्थहरूसमेत यो बन्दरगाह हँुदै आयात हुने गर्दछ । कोलकाताबाट ट्रकमा मालसामान आयात गर्दा भारतको बाटोमा चोरी, विभिन्न राज्यहरूले लिने कर, मालसामान टुटफुट हुनेलगायतका कारणले आयात–निर्यातकर्ताले रेलबाट मालवस्तु आयात गर्दा यस्ता समस्या नहुने भन्दै पछिल्लो केही वर्षयता यसै बन्दरगाहमार्फत् आयात निर्यात गर्न रुचाउन थालेका थिए ।
तर पछिल्लो समय विशेषगरी भारतीय रेल्वे सेवामा देखिएको समस्या र उसले नेपाली आयात–निर्यातकर्तालाई प्राथमिकतामा नराखेको गुनासो नेपाली आयातकर्ताहरूको रहँदै आएको छ । कोलकाता बन्दरगाहमा लामो समय कन्टेनर थन्किने, त्यहाँबाट हिँडिहालेपनि ढिलो गरी यहा आइपुग्ने, लामो समयसम्म बाटोमै अवरुद्ध हुनेलगायतका कारणले आयातकर्ताहरूले सिपिङ कम्पनीहरूलाई चर्को विलम्ब शुल्क तिर्नुपर्ने उद्योग व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न समस्या भइरहेको उद्योगी व्यवसायीहरूको गुनासो छ ।
http://kantipur.ekantipur.com/news/2017-12-03/20171203073350.html