719 views 0 secs 0 comments

नेपाल एयरलाइन्सले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना …

In देश
१५ भाद्र २०७६, आईतवार १२:११

साताको तीन उडान गर्ने गरी काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ ।
दशैंको सिजन भएकाले जापानबाट नेपाल आउने यात्रु सन्तोषजनक रहेपछि काठमाडौंबाट जापान जाने यात्रु कम छन् । त्यस कारण रित्तै जहाज उडानुभन्दा यात्रु बढ्दा साथ उडान थप्ने गरी सातामा दुई उडान मात्र गर्ने तयारी छ । यसको फाइनल सेड्यूल भने नआइसकेको निगमका एक अधिकारीले जानकारी दिए ।‘यात्रु नियमित हुने अवस्थामा स्थगित हुँदैन,’ उनले भने, ‘तर, अन्य यात्रु पाउने गन्तव्य छाडेर जापानमा रित्तो जहाज उडाउँदा निगमलाई पनि घाटा हुन्छ ।’
एयरलाइन्स बिजनेशमा यात्रु घट्दा र बढ्दा गरिने उडान थप र कटौतीको नियम अनुसार जापान उडान नियमित हुने उनले बताए । उनका अनुसार दशैं र त्यसपछि पनि अग्रिम बुकिङ राम्रो छ । तर, दशैं अगाडि बुकिङ ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा छ ।
त्यसपछि पर्यटकीय मौसम सुरु हुने भएकाले यात्रु अभाव नहुने निगमले अपेक्षा गरेको छ । निगमले १२ वर्षपछि गत १२ भदौदेखि जापान उडान थालेको थियो । शनिबार जापानबाट काठमाडौं आउँदा निगमको जहाजमा ९५ यात्रु रहेका थिए । जापानका लागि निगमले मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ ।