533 views 3 secs 0 comments

चासोक तङ्नाम सुरु, साझा चाड बनाउने प्रयास

In देश, समाज
१७ मंसिर २०७४, आईतवार १३:१६

मंसिर १७, २०७४-पूर्वका लिम्बू समुदायका मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम आइतबारदेखि भव्यरुपमा सुरु भएको छ । नयाबाली भित्राउने बेलामा मनाइने चासोक तङनामको अवसरमा पुर्वका लिम्बू जातिहरुमा खुसियाली छाएको छ ।

आइतबार देखिनै पुर्वका नौ जिल्लामा छरिएर रहेका लिम्बु समुदाय देखि हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले सामुहिक रुपमा मनाउने गरेका छन् ।

खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ । उक्त अवसरमा धरानस्थित चुम्लुङ हिममा येवा फेदाङमाबाट विधिवत सुरु गरी आफन्तहरु बीच सुख शान्ति र समृद्धिको कामना साटासाट गरिएको छ । ठूलाले सानालाई आशिर्वाद दिंदै टीका लगाइदिने छरछिमेकीवीच हुक्वा (खानेपारिकार) साटासाट गर्ने गरिएको छ ।

गतवर्षका चासोक तङ्नाम पाँचदेखि सातदिन सम्म मनाउने गरिएपनि यसपटक प्रदेश र प्रतिनिधिसभाको चुनाव परेकाले एकदिनमा समित गरिएको किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङ्ले बताए ।

एकदिनमात्र मनाउने भएपनि चासोक तङनाङको अवसरमा धरान–१४ विजयपुरस्थित हाङयुक्ना दरवारमा पुजा अर्चना गर्दै सिरिजंगा लिपिका प्रचारक त्येअंसि सिरिजंगा सिंह थेवेको ११३ औं जन्मजयन्ती पनि मनाउदै उनको प्रतिमामा माल्याणपण गरिएको थियो ।

चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा लिने गरेको चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बुले बताइन् ।

उनका अनुसार आफ्नो इष्टदेवसंग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास छ । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल र प्रवधिको प्रदर्शन पनि गरिएको छ ।

आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नया पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले चुम्लुङले ०४८ सालदेखि व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालिएको चुम्लुङका संस्थापक सचिव नरप्रसाद लुङ्फुङ्वाले बताए । उनले पुर्वमा यसलाई साझा सांस्कृतिक चाडको रुपमा विकसित गर्न प्रयास भइहेको बताए ।

http://bit.ly/2AkO4CG