काठमाडौं प्रेस चौतारी र प्रेस सेन्टरको मिडिया सेन्टरमा आइतबार भएको अन्तर्क्रियामा नेता नेपालले कांग्रेसका नेताहरुले अभिव्यक्तिमार्फत हार स्वीकार गरेको बताए । ‘कम्युनिष्ट शासन आए रुन पनि पाइन्न भन्नु, कम्युनिष्ट अधिनायकवादी शासन आउँछु भन्ने हार स्वीकार गर्नु हो,’ नेता नेपालले भने, ‘वाम तालमेलले कांग्रेसमा भूइँचालो गएको छ ।’
पछिल्ला निर्वाचनका आधारमा वामपन्थी मत ६५ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै नेता नेपालले ती मतहरु प्हिलोपटक एकीकृत भएकाले आगामी निर्वाचनमा सहजै बहुमत आउने दाबी गरे । ‘पहिलोपटक हामी वाम दलको बहुमत बनाउने अवसर नजिक पुगेका छौं,’ उनको भनाइ थियो, ‘५ वर्ष स्थिर सरकार बनाएर जनतालाई विकास र समृद्धि प्रत्याभूति गरेर छाड्छौं ।’
तीनपटक पाएको बहुमत कांग्रेसले जोगाउन नसकेको उल्लेख गर्दै नेपालले कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए ।
नयाँ शक्तिका उम्मेदवार एमालेमा
कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका काठमाडौं– २ का उम्मेदवार गणेश सिम्खडा एमाले प्रवेश गरेका छन् । उनलाई सोही क्षेत्रका वाम गठबन्धनका उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरे ।
सिम्खडाले नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई सैद्धान्तिक विचलनको अवस्थामा पुगेकाले आफूले पार्टी परित्याग गरेको बताए ।