मंसिर २२, २०७४-संसद्ले विवाहसम्बन्धी ऐतिहासिक कानुन पारित गरेसँगै अस्ट्रेलियामा समलिंगी विवाहले कानुनी मान्यता पाउने भएको छ ।
अस्ट्रेलियाका गभर्नर जनरलले हस्ताक्षर गरेसँगै कानुनले अब वैधानिकता प्राप्त गर्नेछ । अधिकांश सांसदहरूले बिहीबार आठ वर्ष लामो विवाहसम्बन्धी कानुन परिवर्तन गर्ने पक्षमा मतदान गरेका थिए । संसदको निर्णयसँगै दशक लामो बहसको अन्त्य भएको अस्ट्ेरलियाली सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कानुन पारित भएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री माल्कम टर्नबुलले ‘अस्ट्रेलियाली जनताका लागि ऐतिहासिक दिन’ भएको उल्लेख गरे ।
‘प्रेम, समानता र सम्मानको दिन हो,’ उनले भने, ‘अस्ट्रेलियाले यो गरेर देखायो ।’ उक्त कानुन पारित भएसँगै संसद्मा खुसियाली मनाइएको थियो । कतिपय सांसदहरूले समर्थकहरूका अगाडि एकअर्कालाई अँगालो मार्दै ‘म छु, तिमी छौ, हामी अस्ट्ेरेलियाली हौं’ भन्ने गीत गाएर नाचिइरहेका थिए । यसअघि, उक्त कानुनको मतदानका समय अस्ट्ेरलियाको संसद् भवन अगाडि हजारौं समर्थकको भीड लागेको थियो । उनीहरूमध्ये इयान थोर्पेलगायत समलिंगी विवाहको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मी थिए ।
संसद्मा कानुनको मस्यौदा ‘हाउस अफ रेप्रिजेन्टेटिभ’ मा दर्ता भएयता एक सयभन्दा बढी सांसदले समर्थनमा बोलेका थिए । कतिपय सांसदले आफ्नो विगतको स्मरण गर्दै बोलेका थिए ।