सिरहामा दुई महिलाको हत्या, श्रीमान र ससुरा पक्राउ

In हत्या
१३ मंसिर २०८०, बुधबार १४:२६

१३ मंसिर, काठमाडौँ।

सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।

सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन् । पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरको राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जितमाथि कुटपिट गरेका थिए । कुटपिटबाट उनको मृत्यु भएको थियो । घटना ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकले प्रहरीलाई जानकारी गराएको र अनुसन्धानबाट हत्या गरेको खुलेको डीएसपी पाण्डेले बताए ।