हत्याको १६ वर्षपछि घटनामा संलग्न २ जना पक्राउ।

In हत्या
६ मंसिर २०८०, बुधबार १३:२०

६ मंसिर,काठमाडौँ।

हत्या भएको १६ वर्षपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । उनका अनुसार दुवै जनालाई गाउँघरमै  बसेको अवस्थामा पक्राउ गरिएको हो ।

मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४) का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो । सन्तोषको हत्यापछि जंगलमा लगेर शव गाडिएको थियो । सो घटनामा संलग्न दुवैलाई  जिल्ला अदालत मोरङले  २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।