
१२ मंसिर, गोरखा ।
गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् ।
ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए ।
कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए ।