
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन् ।
सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन् । उनले भने, “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु । सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसमा सन्तुष्ट छु ।”
यस वर्षको सुन्तलाको ठेक्का रु २५ लाखमा काठमाडौँका व्यापारीलाई दिएको उनले बताए । उनले भने, “उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन् । यसले गर्दा सहज भएको छ ।” थापाले सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन्। उमेर अवस्थाका कारण पेसालाई निरन्तरता दिन कठिन रहेको बताउँदै उनले भने, “छोराछोरी स्वदेश फर्किएर यही पेसा निरन्तरता गरिदिएहुन्थ्यो भन्ने लाग्छ ।”
तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनको सुझाव छ । उनले भने, “कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ । किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु ।” जिल्लाका अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनको भनाइ छ ।