
१० मंसिर, काठमाडौँ।
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् ।
१८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो ।
शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर आइपुगेको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए ।