
९ मंसिर, काठमाडौँ।
महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्।
एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न रहेका आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो।
विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रण्मा लिन सफल भएको थियो।