678 views 0 secs 0 comments

बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु

In समाज
२ पुष २०७५, सोमबार १४:०३

बेनी। म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ। बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो।

बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए। १ दशमलव ७ मिटर चौडाइ भएको सो पदमार्ग निर्माणमा रु ७८ लाख बढी लागत अनुमान गरिएको छ। नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४०, र १० प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

पदमार्गको लागि रेखाङ्कन गरिएको क्षेत्रको झाडी सरसफाइ शुरु गरिएको छ। दुईदेखि तीन समूहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणकार्यलाई तीव्रता दिइने शाक्यले बताए। हाँडेभीरदेखि लम्भीहिलसम्म ६७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने सङ्घका अध्यक्षसमेत रहनुभएका पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले जानकारी दिए।

“म्याग्दी भ्रमण वर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनीसँगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष कर्माचार्यले भने।

गत भदौमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्माचार्यले यस पदमार्गको संयुक्त रूपमा शिलान्यास गरेका थिए। मोना–बेनी लभ्लीहिल पदमार्ग नामाकरण गरिएको यस योजनालाई समयमै सम्पन्न गर्ने गरी काम शुरु भएको जनाइएको छ।

यो पदमार्ग निर्माणले लभ्लीहिलसँगै बेनीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ। लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्ती, कालीगण्डकीको मनमोहक दृश्य, धौलागिरि हिमालको मनोरम दृश्यलाई एकै पटक अवलोकन गर्न सकिन्छ।