1028 views 0 secs 0 comments

जङ्गलमा एक युवकको हत्याको आरोपमा चार युवा पक्राउ : रुपन्देही

In समाज
८ जेष्ठ २०७६, बुधबार १६:१०

रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।

उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको सोमबार ढुङगाले हानेर बीभत्स हत्या भएको थियो ।

पक्राउ परेका सबै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् । पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकेका थिए । मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । हत्या गरेर जङ्गलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

यौन व्यवसायमा लगाउने होटल सञ्चालक पक्राउ

झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर) रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनीहरुलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । १५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।
–––